नगरकोट सडक विस्तार ढिलाइको विरोध  

नगरकोट सडक विस्तार ढिलाइको विरोध  

भक्तपुरको नगरकोट सडक विस्तारमा ढिलाई भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। भक्तपुरको कमलबिनायकबाट नगरकोट पुग्ने सडकखण्ड कालोपत्रेमा ढिलाई भएकोभन्दै स्थानीय आन्दोलित बनेका हुन्।

स्थानीय युवाहरूले हिलाम्य सडकखण्डमा धान रोपेर विरोध जनाएका हुन्। उनीहरूले सडकमै विभिन्न माग लेखिएका प्लेकार्ड गाडेका थिए। 

आर्थिक वर्ष २०७२र७३ भित्र सम्पन्न गरिसक्ने योजनाका साथ सुरु भएको योजना अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि युवाहरूले नगरकोट बसपार्क नजिकैको हिलो सडकखण्डमा विरोध गरेका हुन्। बारम्वार सडक सम्पन्न गर्नुपर्ने म्याद थप्दा थप्दै आएको निर्माण कम्पनिले पछिल्लो पटक बैशाख ७ गतेभित्र सडक निर्माण सक्ने जनाएको थियो। तर, उक्त अविध सकिएको महिनौ वित्दा पनि सडक निर्माण हुन सकेको छैन। सडक विस्तार कार्य अहिले पनि कछुवा गतिमा छ।   

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले सडक विस्तार गर्न आफूहरूले पटक–पटक दवाव दिँदा पनि सुनुवाई नहुने गरेको गुनासो गरे। आफूहरूको माग सुनुवाई नभए स्थानीयबासी र पर्यटन व्यवसायीले संयुक्त रुपमा विरोधका कार्यक्रम गर्ने उनले जनाए।

१६ किलोमिटरमध्ये अहिलेसम्म दुई किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।  भक्तपुर भत्केको पाटीदेखि खरिपाटी कृष्ण मन्दिरसम्म मात्रै कालोपत्रे कार्य सम्पन्न गरिएको छ। चार मिटर फराकिलो चौडाईको दुई लेन सडकलाई हाल सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना थियो।


Leave a Reply

Your email address will not be published.