पिसिआर मेसिन किनिदिने

पिसिआर मेसिन किनिदिने

प्रवासी झापालीको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर मेसिन खरिद गरििदने भएको छ। झापामा मेसिन खरिदका लागि दाता खोजी भइरहेका बेला समाजले उक्त निर्णय गरेको हो।

समाजको आइतबार सम्पन्न भर्चुअल मिटिङले पिसिआर ल्याबका लागि चाहिने मेसिन किन्न आवश्यक सहयोग गर्ने निर्णय गरेको समाजका उपाध्यक्ष नवीन पोखरेलले बताए। त्यसका लागि वरिष्ठ उपाध्यक्ष दीपक खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको उनले जानकारी दिए।

मेसिन खरिदका लागि ३० लाख नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै पिसिआर ल्याब स्थापनाका लागि झापामा विभिन्न संघसंस्थाबीच छलफल भइरहेको छ।

पिसिआर ल्याब निर्माणका लागि करिब १ करोड २० लाख रुपैयाँको लाग्ने र त्यसका लागि के कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न अन्तर्राष्ट्रिय झापाली समाजको बैठक बसेको हो।

बैठकमा मध्यपूर्व, ओसिनिया, एसिया तथा युरोपका अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिको सहभागिता थियो। झापा नेपालकै प्रमुख नाका भएको र सो नाकाबाट नेपाल आउने नेपालीको संख्या उल्लेख्य हुने भएकाले झापामा पिसिआर ल्याब आवश्यक महसुस गरिएको छ।

ल्याब स्थापना गर्नसके कोरोना रोकथाममा प्रदेश १ योगदान पुग्ने निष्कर्षमा समाज पुगेको पोखरेलको भनाइ छ।

अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थासँग सहकार्य गरेर काम सम्पन्न गर्न आफू लागिपरेको वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक खनालले भर्चुअल मिटिङमा बताए। उनले अस्ट्रेलियामा रहेका नेपालीलाई कम्तीमा १० डलर सहयोग गर्न अनुरोध गरेका छन्।

संस्थाका अध्यक्ष छत्र सुब्बाले बैठकमा सहजीकरण गरेका थिए। झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजलाई  आफ्नाे संस्थाले .सहयोग गर्ने घोषणा गरेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रथम चरणमा झापाका १५ वटै पालिकालाई १ हजार ६ सय भिटिएमलगायत अन्य उपकरण प्रदान गरिसकेको छ। उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले जिल्लाका सबै पालिकामा पुगेर भिटिएम किट प्रदान गरेको हो।


Leave a Reply

Your email address will not be published.

थप समाचार