भारतबाट फर्किनेलाई नाकामा खाना खुवाइँदै

भारतबाट फर्किनेलाई नाकामा खाना खुवाइँदै

कोरोनाका कारण अलपत्र परेर भारतबाट स्वदेश फर्किने नेपालीलाई नाकामै तयारी खाना खुवाउन थालिएको छ। 

बाँके युनेस्को क्लको संयोजनमा लामो यात्रा गरेर भोक र तिर्खाले थलो परेका नेपालीलाई केही राहत मिलोस् भन्ने उद्देश्यले जमुनाह नाकामा तयारी खाना, पानी र मास्क वितरण सुरु गरिएको छ। 

बाँके युनेस्को क्लबका संरक्षक प्रज्वल अली सिद्दिकीले भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई खाना, पानी र मास्क वितरण गर्ने लक्ष्य राखिएको बताए। उनले भारतबाट फर्किनेहरू भोक, प्याससै नाका आइपुग्ने गरेकाले मानवीय सेवाका लागि अभियान सुरु गरेको बताए। 
‘कोरोनाको जोखिम क्षेत्रबाट आएकाले मास्कसमेत नपाएको भन्ने गुनासो आएपछि फर्किन सबैलाई मास्क वितरण गर्ने योजना बनायौं,’ सिद्दिकीले भने।
प्रदेश सभाका सभासद कृष्णा केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली र सशस्त्र प्रहरीका एसपी दीपक अधिकारीलगायतले नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखामा भारतबाट आएका नेपालीलाई तयारी खाना खुवाएर कार्यक्रम सुरुवात गरे।

कोरोनाको जोखिम क्षेत्रबाट आएकाले मास्कसमेत नपाएको भन्ने गुनासो आएपछि फर्किन सबैलाई मास्क वितरण गर्ने योजना बनायौं  

प्रदेशसभा सदस्य केसीले भारतबाट आउने नेपालीलाई तयारी खाना, पानी र मास्क दिएर बाँके युनेस्को क्लबले मानवीय सेवा गरेको बताइन्। उनले नेपाल फर्किनेको राम्रो व्यवस्थापनबाटै कोरानो भाइरसलाई परास्त गर्न सकिने धारणा राखिन्। 
कर्णेल थापाले भारतबाट आउनेका लागि जमुनाह नाकामा गरिएको व्यवस्थाका बारेमा जानकारी गराए।

प्लान इन्टरनेसनल नेपाल, नेपालगन्ज एरिया अफिसका म्यानेजर मीना पराजुलीले भारतबाट फर्किनेको दुःख र पीडालाई मनन गरेर केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले तयारी खाना, पानी र मास्क वितरण सुरु गरिएको बताइन्।

नेपालगन्ज नाकाबाट अहिले दैनिक सरदर १ हजार ५ सय नेपाली आउने गरेका छन्। भारतबाट आउनेलाई रुपैडिहाबाट गाडीमा हालेर सिधै सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने गरिएको छ। बाँकेका नागरिकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन र अन्य जिल्लाका सर्वसाधारणलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए।

बिहीबारदेखि सुरु सेवाबाट सोमबार बिहानसम्म ३ हजार ३ सय ४ जनालाई तयारी खाना, पानी र मास्क वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए। उनले खाना खुवाउने काम रातिसम्म जारी रहने गरेको बताए।
 


Leave a Reply

Your email address will not be published.