तीन महिनादेखि अलैंची र चिया भारत निकासी हुन सकेन

तीन महिनादेखि अलैंची र चिया भारत निकासी हुन सकेन

भारतीय पक्षले गरेको ढिलासुस्तीका कारण तीन महिनायता अलैंची र चिया भारत निर्यात हुन सकेको छैन। अहिले मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा अलैंची  र चिया लोड भएका २७ वटा ट्रक थन्किएका छन्।  

व्यवसायीका अनुसार १४ वटा चिया र १३ वटा अलैंची लोड भएका ट्रक मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा थन्किएका हुन्। भारत पश्चिमबंगाल राज्यको रानीगन्ज नाकाबाट निर्यात हुन नसक्ने अवस्थाका कारण ती ट्रक रोकिएका हुन्।

नेपालतर्फ निकासीको सबै प्रक्रिया  पूरा भए पनि भारततर्फ प्रक्रिया सुरु नहुँदा समस्या भएको छ। भारतीय भन्सार कार्यालयले आफ्नो क्षेत्रमा आए सबै काम गर्ने भने पनि पश्चिमबंगाल प्रहरीले मालबाहक सवारीसाधनको अनुमति नदिएको व्यवसायीको गुनासो छ।

व्यवसायीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र मेची भन्सार कार्यालय काँकडभिट्टामा जानकारी गराउँदा पनि समस्या सुल्झन सकेको छैन।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार लकडाउन सुरु भएयता नेपालबाट कृषिजन्य वस्तु भारत निर्यात हुन नसकेको बताए।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चिया, अदुवा, अलैंची, अम्लिसोजस्ता नेपाली उत्पादन निर्यात हुने गरेको छ। तर, लकडाउनका कारण लामो समयदेखि त्यो काम ठप्प रहेको व्यवसायीको भनाइ छ। लकडाउनअघि नेपालबाट अन्तिमपटक गत चैत ९ मा कृषिजन्य उत्पादन निर्यात भएको थियो। मेची भन्सार अधिकारीका अनुसार चिया, अदुवा अलैंचीमात्रै होइन कुनै पनि सामग्री निकासी भएको छैन।

नेपाल-भारतमा लकडाउन खुकुलो हुँदै गएपछि उताबाट विभिन्न सामान ल्याएर सवारीसाधन नेपाल आइरहेका छन्। तर,  झापा, इलाम, पाँचथर, ताप्लेजुङमा उत्पादित  कृषि  उत्पादन काँकडभिट्टा नाकाबाट निर्यात गर्न नपाएको नेपाली भन्सार एजेन्टहरूले बताएका छन्।

यस वर्षको अलैंची निस्किन दुई महिनामात्रै बाँकी हुँदा गत सालको अलैंची बिक्री नभएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ। लकडाउनयता भारतले नेपाली नगदेबालीमा रोक लगाएपछि अहिले निकासी पनि ठप्प भएको संघका अध्यक्ष राजकुमार कार्की (राजु) ले  बताए।

‘४० प्रतिशत अलैंची गोदाममा थन्किएको  छ,’ अध्यक्ष कार्कीले भने, ‘भारतले निकासी ठप्प गरेपछि झन् समस्या भएको छ।’ अहिले २ अर्ब रुपैयाँबराबरको अलैंची गोदाममा थन्किएको  महासंघका अध्यक्ष  कार्कीले बताए।

महासंघका महासचिव सुवास भट्टराईले पश्चिमबंगाल सरकारको रबैयाका कारण नेपाली उत्पादन लोड भएका मालवाहक ट्रक काँकडभिट्टा नाकामा अलपत्र परेको बताए। जाँचपास भइसकेका ती गाडी पानीट्याङ्की छिर्न दिइएको  भट्टराईले बताए।

दुई वर्षदेखि अलैंची बिक्री नभएको इलामका किसान जीवन राईले बताए। व्यवसयीले अलैंची किन्न छोडेको उनको गुनासो छ।

पाँच वर्षमा ६ गुणा मूल्य घटे पनि गत वर्षको अलैंची बिक्री भएको छैन। मूल्य घटेपछि ४३ जिल्लाका किसानको लगानी जोखिममा परेको छ।


Leave a Reply

Your email address will not be published.