‘हटस्पट’ बनेको नरैनापुर कोरोनामुक्त

‘हटस्पट’ बनेको नरैनापुर कोरोनामुक्त

नेपालगन्जकाे नरैनापुर केही दिन पहिलेसम्म कोरोनाको 'हटस्पट' बनेको थियो। तर, अहिले स्थिति शान्त बन्दै गएको छ।

भौतिक पूर्वाधार, सडक बिजुलीबत्ती, शिक्षा तथा स्वास्थ्य सबै क्षेत्रमा पछाडि परेको नरैनापुरमा अचानक भारतबाट आएका नेपालीलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्न नसक्दा कोरोनाको हटस्पट बन्यो।

पहिलोपटक आठजनामा देखिएको संक्रमण दोस्रो ४७, तेस्रोपटक १२ हुँदै १ सय १८ जनामा देखियो। कोरोनाबाट एकजना युवाको मृत्युसमेत भयो। चौतर्फी त्रासपूर्ण माहोलको सिर्जना भयो। संक्रमितलाई आइसोलेसन अस्पताल लैजान लाग्दा कयाैंपटक तनाव र झडप भयो।

अवस्था गाउँपालिकाको नियन्त्रण बाहिर गएपछि स्थानीय निकायले केन्द्र सरकार गुहारेका थिए। फलस्वरूप गाउँपालिकामा निषेधाज्ञा जारी गर्दै सेनासमेत परिचालन गरियो। एक महिना त्रासकै बीच बित्यो।

तर, यतिबेला नरैनापुर कोरोनामुक्त बनेको छ भने स्थानीयले सन्तोषको सास फेरेका छन्। कोरोना संक्रमित सबै निको भएर घर फर्किएकोमा गाउँपालिकाले खुशी व्यक्त गरेको छ।

शनिबार पछिल्लो पटक नरैनापुरका २४ संक्रमितको रिपोर्ट नेगेटिभ आएर डिस्जार्च भएसँगै नरैनापुर कोरोनामुक्त भएको गाउँपालिकाका सूचना अधिकृत लक्ष्मीकान्त मिश्रले बताए।

गाउँपालिका अध्यक्ष शाह पनि कोरोना नियन्त्रणमा निकै खटिएका थिए। गाउँपालिकामा आफूहरूले नसोचेको संख्यामा भारतबाट मान्छे आएर समस्या थपिएको उनले बताए।

बाँकेमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छैन र क्वारेन्टाइनको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको देखिँदैन। अहिलेसम्म नरैनापुरमा करिब १ हजार ३ सयजना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन्। यस्तै, अझै पनि विभिन्न पाँच क्वारेन्टाइनमा १ सय ३५ जना बसिरहेका छन्।

यीमध्ये ५० जनाको स्वाब संकलन भइसकेको गाउँपालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.