दलित हुँदैमा मारिनुपर्ने?
रुकुम जाजरकोटमा प्रेमको नाममा भएको घटना हाम्रो समाज र सामाजिक चेतनाको स्तर देखाउने एक ज्वलन्त उदाहरण हो। संविधानले सबै जातजाति, धर्म, लिङ्ग, उँचनिचको भेदलाई समाप्त गरिसकेको छ। यस्तो अवस्थामा आफूलाई ठूलो जात मान्ने मुर्ख पाखण्डीहरूको मानवता विरोधी क्रुर घटनाले समाजमा भाइचारा सामाजिक सद्भावनामा दखल पुर्यfउने निन्दनीय कामबाट प्रत्येक नेपालीको शीर शरमले लज्जित बनाई झुकाइदिएको छ।
यस्तो घृणित अमानवीय क्रुर घटना घटाउने अपराधीहरूमाथि हदैसम्मको सजाय हुन आवश्यक छ। यद्यपि, अहिले यो मुद्धामा बहस जारी छ। तर, यदि यसमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रहका कारण सजाय रोकियो भने समाजका यस्ता पाखण्डी, मुर्ख, अपराधी तथा विवेकहीनहरूको हौसला बढ्न सक्छ। अपराधीलाई कडाभन्दा कडा सजाय गरी सामाजिक सद्भाव, भाइचारा स्थापित गर्न नेपाल सरकार प्रतिबद्ध हुनुपर्छ। पीडितलाई उचित क्षतिपूर्ति र सामाजिक सुरक्षाको जिम्मा पनि सरकारको दायित्व हुन्छ।
जब मानिस एउटा शिशुको रूपमा जन्मिन्छ, उसलाई थाहा हुँदैन कुन जातमा जन्मिएँ। अनि, उसलाई यो पनि थाहा हुँदैन कि, गरिबीमा जन्मिएँ वा धनी परिवारमा। किनकि, जन्म–मृत्यु श्रृष्टिको अनवरत नियम हो। रामायणमा भगवान रामले तल्लो जातकी माताको हातको जुठो फल खाएर आफ्नो भोक मेटाए। भगवानले जातपात उँचनिच केही भनेको छैन। हामी सबै श्रृष्टिकै परिणति हौं। तर, विभेदको आडम्बर किन? आदिकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भनेका छन्।
फेरि मानिस–मानिसमा विभेदको खाडल किन? दलित भएकै कारण प्रेम गर्न नपाउने? शान्त मन र ध्यानपूर्वक दिमाग लगाएर सोचौं सानो ठूलो जातबीच केमा भिन्नता छ? श्रृष्टिकर्ताले श्रृष्टिको रचना गर्दा तल्लो जात माथिल्लो जात भनेर गरेको होइन। तैपनि, सर्वश्रेष्ठ बुद्धिमान प्राणी मनुष्यबीच विभेद छ। पशुपन्छिमा माया, प्रेम, दया, करुणा र आपसी सद्भाव त हामिले देख्ने गरेकै छौं। फेरि, मानिसमा किन क्रोध, इर्ष्या र जातको घमण्ड अनि विभत्स हत्या? एकपटक पीडित परिवारको पीडा, विभत्स हत्या गरिएकाहरूको स्थानमा अपराधीहरूले आफूलाई राखेर सोचुन् अनि थाहा हुनेछ त्यसको पीडा।
तिमीहरूले दिएको क्रुर यातना मानवताको हद नाघेर गरिएको त्यो हत्याको घटना हेर्दा माफी दिन सकिने कुनै ठाउँ नै छैन। देशमा सबै प्रकारका विभेदको अन्त्य भइसकेको छ। तर, अझै यो जातीय विभेद रहिरहनु अज्ञानता हो वा धर्मको अहंकार? र, अन्तमा यस्ता क्रुर, मानवता विरोधी घटनाहरू फेरि नदोहोरियुन् भन्नका लागि दोषीमाथि कारबाही हुन जरुरी छ। समाजमा सद्भाव, प्रेम र भाइचारा कायम राख्न सबै प्रतिबद्ध रहौं।
(दलित गैरसरकारी संस्था समन्वय समितिका पूर्वअध्यक्ष परियार हाल भारतमा छन्)