‘माग्ने’ पेसा फेर्दै बाँकेका ‘मगन्ता’

‘माग्ने’ पेसा फेर्दै बाँकेका ‘मगन्ता’

बाँकेको डुडवा गाँउपालिका-६ हिरमिनियाको मगन्ता टोलकी राधा माहुतले आफ्नै घरअगाडि किराना पसल थालेको दुई वर्ष भयो। पुर्खाले मागेर खाए पनि उनी भने आफ्नै मिहिनेतमा बाँच्नु नै जीवनको महत्त्व भएको बताउँछिन्। 

उनीसँग घरबाहेक खेतीका लागि जमिन छैन। परिवारका सदस्य नेपालगन्जमा अरूको घर बनाउने काम गर्ने र रिक्सा चलाउँदै गुजारा गर्दै आएका छन्। १० हजार रुपैयाँबाट सुरु गरेको उनको किराना पसल अहिले करिब १ लाख रुपैयाँको भएको छ। ‘मजदुरी गर्नुभन्दा किराना पसलबाट राम्रो फाइदा भएको छ,’ उनले सुनाइन्। 

उनका अनुसार पसलमा दैनिक ५ सयदेखि १ हजारसम्म बिक्री हुन्छ। पुर्खाले मागेर खाए पनि अहिले उनको घरका कुनै सदस्य माग्न जाँदैनन्। ‘पुर्खाले जे गरे त्यही गर्नुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘मागेर ल्याएको खानुभन्दा आफ्नै पसिनाले कमाएको खाँदा आनन्द आउँछ।’

सामान्य लेखपढ गर्न जानेकी राधालाई पसलमा बस्न सुरु-सुरुमा साह्रै गाह्रो लाग्थ्यो। कहिल्यै व्यापार नगरेकी उनलाई सामान कसरी र कति मूल्यमा बिक्री गर्ने? भन्ने ज्ञान नै थिएन। अहिले भने अन्य कामभन्दा व्यापार गर्न सजिलो लाग्न थालेको छ। ‘कुन सामान कसरी बिक्री गर्ने र कति रुपैयाँमा बिक्री गर्ने जानकारी नहुँदा कहिलेकाहीं महँगो सामान सस्तो मूल्यमा बिक्री गर्थें,’ उनले भनिन्। 

‘संघसंस्थाहरू आएर सर्वेक्षण गर्छन्, सोधपुछ गर्छन् तर त्यसपछि फर्केर आउँदैनन्,’ माहुत टोलका जमुना माहुतले भने, ‘गरिबीका कारण खानलाउन समस्या परिरहेको बेला छोराछोरीलाई केले पढाउने हो!’

घरको आँगनमा घुम्तीमा राखिएको किराना पसलबाट भएको आम्दानीले उनले देवर र छोराछोरीलाई विद्यालय भर्नासमेत गरेकी छिन्। उनका देवर सरस्वती मावि भङघोटनामा कक्षा ९ मा अध्ययनरत छन् भने दुई बच्चा नजिकैको भेरी मिडियम स्कुलमा अध्ययनरत छन्। राधाले भनिन्- ‘थोरै र नमिठो खाएर भए पनि बालबच्चालाई विद्यालय पठाइरहेका छौं।’

उनका श्रीमान नेपालगन्जमा डकर्मीको काम गर्छन्। देवर र श्रीमानले कमाएको पैसा बचत गरेर उनले किराना पसलमा लगानी गरेकी हुन्। पसलको साथै राधाले घरमा बंगुर र बाख्रापालन पनि गरेकी छlन्। पसलबाट फुर्सद पाउनासाथ उनी बाख्रा र बंगुरको हेरचाहमा लाग्छिन्। ‘फुर्सदको समय गफ गरेर बिताउनुभन्दा बाख्रा र बंगुरको हेरचाह गरेर बिताउँछु,’ राधाले भनिन्, ‘ठूलो परिवार भए पनि व्यापार र मजदुरी गरेर खानलाउन पुगेकै छ।’ 

राधाका श्रीमान सानो छँदा बाबुआमासँग माग्न गाउँमा गए पनि अहिले भने बाबुआमालाई समेत माग्न जान दिँदैनन्। उनलाई अहिले मागेर खान लाज लाग्न थालेको छ। त्यसैले उनले बाबुआमालाई समेत माग्न जान बन्देज लगाए। ‘मागेर खाँदा आत्मग्लानि हुन्छ,’ उनले सुनाए, ‘मागेर खानुभन्दा त मजदुरी गरेर खान राम्रो लागेको छ।’

डुडुवा गाँउपालिका-६ का माहुतहरूले अहिलेसम्म सीमान्तकृत समुदायमा सूचीकृत भए/नभएको थाहा पाएका छैनन्। सूचीकृत नभएका कारण उनीहरू सामाजिक भत्तालगायत राज्यले प्रदान गर्ने अन्य सेवासुविधाबाट समेत वञ्चित छन्।

घरबासमात्र भएका माहुतहरूको आयस्रोतसमेत केही छैन। बाँकेमा करिब चार दर्जन गैरसरकारी संस्थाले काम गरे पनि आफूहरूका लागि अहिलेसम्म कुनै संस्थाले केही नगरेको उनीहरूले दुखेसो पोखे।

‘संघसंस्थाहरू आएर सर्वेक्षण गर्छन्, सोधपुछ गर्छन् तर त्यसपछि फर्केर आउँदैनन्,’ माहुत टोलका जमुना माहुतले भने, ‘गरिबीका कारण खानलाउन समस्या परिरहेको बेला छोराछोरीलाई केले पढाउने हो!’

हिरमिनिया माहुतहरूलाई वडा कार्यालयले भने दलित कोटाबाट राहत उपलब्ध गराउँदै आएको छ। सीमान्तकृत समुदायको रूपमा रहेका माहुतलाई राज्यले छिटोभन्दा छिटो सूचीकृत गर्नुपर्ने स्थानीय माधव पाण्डेको भनाइ छ। 

हिरमिनियाको मगन्ता टोलमा बस्दै आएका माहुतको दैनिकी पहिलेभन्दा धेरै परिवर्तन आएको छ। अर्काको पिँढीमा गएर हात जोडेर माग्ने मगन्ताहरू अहिले भने कर्ममा विश्वास गर्न थालेका छन्। तर, व्यावसायिक सीप नहुँदा उनीहरू अहिले पनि सोचेजस्तो प्रगति गर्न सकिरहेका छैनन्। 

आर्थिक अभावका कारण उनीहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत सकिरहेका छैनन्। त्यसैले राज्य र गैरसरकारी संघसंस्थाले उनीहरूको सीप र दक्षता अभिवृद्धिका लागि सीपमूलक तालिमका साथै बालबालिकाको पठनपाठनका लागि विशेष व्यवस्था गर्न आवश्यक रहेको स्थानीय अगुवाको भनाइ छ।


Leave a Reply

Your email address will not be published.