प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। 

आज बिहान ८ बजे सुरु भएको बैठक प्रतिपक्षी दलहरूकाे अवरोधपछि स्थगित भएको हो। अवरोधपछि प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले आफ्ना कुरा राखेर लगातार अवरोध गरेपछि बैठक स्थगित गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेकाले बैठकमा अवरोध गरिएको दलका नेता रावलले बताए। उनले कोरोना पोजेटिभ देखिएकालाई निको नहुँदै घर पठाउने, पिसिआर परीक्षण बढाउन माग गर्दा पनि बेवास्ता गर्ने र कोरोनाजस्तो जटिल समस्यालाई प्रदेश सरकारले हल्का लिएकाले खबरदारी गर्नुपरेको बताए।

‘पहिलो माग कोरोना व्यवस्थापनमा प्रदेश सरकार गम्भीर बनोस्, सँगसँगै प्रदेश सरकार सुशासन ऐनबमोजिम चलोस् भन्ने हाम्रो माग हो,’ उनले भने।

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम  खर्च गरे पनि संक्रमण रोक्न नसकेको र परीक्षणको दायरा बढाउन नसकेको रावलको आरोप छ। प्रतिपक्षीको अवरोधपछि प्रदेशसभा बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।


Leave a Reply

Your email address will not be published.