‘हटस्पट’ नरैनापुरलाई काेराेनारहित बनाउने पालिकाकाे नीति

‘हटस्पट’ नरैनापुरलाई काेराेनारहित बनाउने पालिकाकाे नीति

कोरोना कहरको सुरुवाती समयमा हटस्पट बनेको बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

गाउँपालिकामा मंगलबारदेखि सुरु भएको गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहले ५० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 
कोभिड-१९ संक्रमणलाई स्थिर बनाउँदै नरैनापुरलाई कोरोनारहित पालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ। 

कोभिड-१९ लाई नियन्त्रणमा लिन कुनै अभाव नहुने गरी बजेटको व्यवस्था मिलाउने, कोभिड महामारीका कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूमा रहेको सीपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग, कृषिलगायतका क्षेत्रको रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गन नीति पालिकाले समेटेको छ। 

काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यावसायिक तथा सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा रोजगारीमा आबद्ध गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ।

पालिकाभित्रका १६ वर्षमाथिका युवालाई सुरक्षा निकायमा रोजगारीका लागि छनोट हुन सहयोग पुग्ने उद्देश्यले आवश्यक तालिमको व्यवस्था मिलाउने, काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यावसायिक तथा सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा रोजगारीमा आबद्ध गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । 

नीति तथा कार्यक्रममा विपन्न परिवारका महिलालाई उच्च अध्ययनमा सघाउन छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, नयाँ जन्मिने हरेक छोरीको बिमा गर्ने, आफ्ना बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालय र गाउँपालिकाबाट दिइने सेवा प्रवाहबाट वञ्चित गर्ने, गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, लोकसेवा आयोग तयारी कक्षाको व्यवस्था गर्ने, कृषि पकेट क्षेत्र घोषणा गर्दै व्यावसायिक कृषि खेतीलाई प्रोत्साहन गर्ने, कृषकलाई बगर खेतीका लागि प्रोत्साहन गर्ने, नश्ल सुधार कार्यक्रमअन्तर्गत कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्याबको व्यवस्था गर्ने, युवा कृषकको गाउँपालिकास्तरीय सन्जाल बनाई तिनीहरूलाई अनुदान तथा सहयोगको व्यवस्था गर्ने विषय समेटिएका छन् । 

त्यस्तै लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्तरवृद्धि गरी आँखा उपचारसहितको सेवा विस्तार गर्ने, सरसफाइमा वडा तथा बस्तीहरूबीचमा प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, विद्यालयमा प्रविधिमैत्री शिक्षण तथा भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने, विद्यालयमा कक्षा छोड्ने दर घटाउन तथा छात्रा सहभागितामा वृद्धि गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकामा एफएम रेडियो सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने, नरैनापुर-अगैया सडकलाई शीघ्र निर्माण गर्नका लागि नेपाल सरकार, प्रदेश ५ सरकार तथा राप्तीसोनारी गाउँपालिकासँग समन्वय गरी बाटो विस्तार कार्य अघि बढाउने, औद्योगिकग्राम स्थापना गर्ने, हुलाकी सडकदेखि वडा कार्यालयसम्म पक्की सडकले जोड्ने लगायतका बुँदा नीति तथा कार्यक्रममा उल्लेख छन् । 


Leave a Reply

Your email address will not be published.