झापा प्याब्सनले भन्यो ‘अनलाइन कक्षाको शुल्क तिर्न पर्दैन’  

झापा प्याब्सनले भन्यो ‘अनलाइन कक्षाको शुल्क तिर्न पर्दैन’  

निजी विद्यालयहरुको संगठन(प्याब्सन) झापाले अनलाइन कक्षा चलाएको बाहानामा अभिभावकसँग पैसा नलिन विद्यालय संचालकहरुलाई आग्रह गरेको छ। 

प्याब्सन झापाका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती (एलपी)ले  अनलाइन कक्षा चलाएर शुल्क असुल्ने योजना विद्यालय संचालकले बनाएको भए त्यो प्याब्सनलाई स्वीकार्य नहुने बताए। 

'यो नियमित  कक्षा होइन, यसमा सबैको सहज पहुँच पनि छैन र हुँदैन' अध्यक्ष उप्रेतीले भने, 'आफ्ना विद्यार्थीलाई व्यस्त राख्ने, लकडाउनका बेला घरमै भएका विद्यार्थीलाई नयाँ कुरा सिकाउनु, प्रविधि प्रयोग गरेर नयाँ ज्ञान दिनु राम्रो र सह्रानीय काम हो तर यसलाई नियमित पढाइ भनेर शुल्क असुल्ने काम कसैले गर्नै हुँदैन।'

उनले कुनै विद्यालयले त्यसरी शुल्क असुलेको र असुल्ने योजना बनाएको भए प्याब्सनलाई जानकारी गराउन आग्रह गरे।

अब सरकारले बनाउने योजनाअनुसार नै विद्यालय संचालन हुने र छुटेको पढाइ पूरा गर्ने विषयमा प्याब्सनले आन्तरिक योजना बनाउन सक्ने उनले बताए। 

कुनै पनि विद्यालयले अनलाइन कक्षामा सहभागी हुनै पर्ने बाध्यकारी अवस्था सिर्जना गर्न नसक्ने र नमिल्ने भन्दै अध्यक्ष उप्रेतीले कोर्सभन्दा पनि अतिरिक्त कुरा सिकाउन अनलाइन  कक्षा   केन्द्रित हुनुपर्ने बताए।

अध्यक्ष उप्रेतीले अभिभावक र विद्यार्थीलाई थप आर्थिक भर पर्ने हो कि भन्ने चिन्ता नलिन आग्रह गर्दै उनले भने, 'यो विषयमा प्याब्सन तपाईंहरुको साथमा छ, अन्याय हुन दिइने छैन।' 

रोकिएको पढाईलाई पूरा गर्न अभिभावक संघसँग पनि छलफल गरेर प्याब्सन अघि बढ्ने योजनामा रहेको उनले बताए।

बिर्तामोड-३ स्थित नवोदय शिक्षा सदनका संस्थापक प्रिन्सिपल धर्मराज माझीले आफूहरुले विद्यार्थीलाई अपडेट गराइ राख्नका लागि अनलाइन कक्षा चलाएको बताए। 

उनले त्यसका लागि विद्यार्थीबाट कुनै अतिरिक्त शुल्क नलिइने र लिन नहुने बताए। 

'प्रविधिमा पहुँच भएका विद्यार्थीलाई सिर्जनात्मक बनाउने हाम्रो प्रयास हो' उनले भने, 'यस्तो कक्षा सञ्चालन गरेर शुल्क लिने कुरा गरिनु हुन्न, लिनु हुँदैन।'

नेशनल प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहेका माझीले भर्चुअल कक्षाको अतिरिक्त शुल्क नलिन सबै विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गरे। 


Leave a Reply

Your email address will not be published.