आइसोलेसनबाटै भागे २१ संक्रमित, जोखिममा दैलेखका बस्ती
पुनः परीक्षण नभएको भन्दै दैलेखको नौमुले गाउँपालिकास्थित आइसोलेसनबाट २१ जना कोरोना संक्रमित भागेका छन्। जिल्लाको नौमुले गाउँपालिका-१ स्थित भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेसन सेन्टरबाट संक्रमितहरू बिहीबार भागेका हुन्।
कोरोना पुष्टि भएको एक हप्ता भइसक्दा समेत पुनः परीक्षण नभएको भन्दै उनीहरू भागेको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले बताए।
भागेका केही संक्रमितलाई प्रहरीले पक्राउ गरेर पुन: आइसोलेसनमा ल्याएको उनले बताए। अझै केही संक्रमित सम्पर्कमा नरहेर गाउँ-गाउँ डुलिरहेको हुनसक्ने अध्यक्ष बुढाको भनाइ छ। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले दिएको जानकारीअनुसार २१ जना आइसोलेसनबाट भागेका हुन्।
आइसोलेसनमा एक सय ४२ जना रहेकामा २१ जनाको भागेको भन्ने सुनिएको र यकिन विवरण संकलन भइरहेकाे उनले जानकारी दिए।