फेन्सी पसल बेचेर कुखुरा पालनमा जमेका पुष्प 

फेन्सी पसल बेचेर कुखुरा पालनमा जमेका पुष्प 

कृषि पेसामा मन तानिएपछि झापाका पुष्प भट्टराईले दमकमा रहेको फेन्सी पसल स्वाट्टै बेचिदिए अनि सुरु गरे कमल गाउँपालिका-१ रतनचौनमा कुखुरापालन। 

अहिले उनको फार्ममा १ हजार ५ सय बढी कुखुरा छन्। लोकल जातका कुखुरा पाल्न उनले ६ कठ्ठा जग्गामा घेराबार गरेका छन्। दिनभर कुखुरा त्यहीं घेराबारभित्र घुम्छन्, चर्छन्।

रातमा कुखुरा फार्ममा हुन्छ। बस्न, चर्न, घुम्न र दानापानी राम्रो प्रबन्ध भएकाले कुखुरा राम्ररी सप्रिएका छन्। चल्तीको फेन्सी पसल बेचेर यो पेसामा होमिएका उनको अहिलेसम्म १२ लाखबढी खर्च भइसकेको छ।

खर्चअनुसार आम्दानी भने हुन नसके पनि पुष्पले पेसाबाट आफू सन्तुष्ट रहेको बताए। उनले भने, 'थोरै समयमा धेरै आम्दानीको अपेक्षाभन्दा पनि आफ्नो जमिनमा कृषिकर्म आफैं गर्नुमा आत्मसन्तुष्टि हुँदोरहेछ।' कुखुरासँगै माछापालन सुरु गरेका उनी चाँडै नै गाईपालन सुरु गर्ने योजनामा छन्। माछापोखरीको संख्या बढाउने लक्ष्य राखेका भट्टराईले कुखुराको फार्म,  त्यहाँ आउने मानिस बस्न बाटिका निर्माण र घेराबारमा अहिले समय खर्चिरहेका छन्। व्यवस्थित माछापालन, गाईपालन र बाख्रापालनको योजनामा रहेका उनले एकीकृत कृषि पेसा आफ्नो लक्ष्य भएको बताए।

'लकडाउनको समय छ, बाहिर कहिं खुला छैन, यो समय फार्ममा नै खर्चेको छु,' उनले भने, 'फार्मभित्र नै पकाउने खाने व्यवस्थित ठाउँ बनाउने तयारीमा छु।'

भट्टराईको फार्ममा कुखुरामात्र होइनन्,  अण्डा पनि उत्पादन हुने गरेको छ। फार्मका धेरै कुखुरा त्यहीँ उत्पादन भएका चल्ला हुन्। कतिपय बाहिरबाट ल्याइएको उनले सुनाए। उनको फार्ममा उत्पादन भएको कुखुरा डिलरले प्रतिकेजी ४५०, खुँगीवालले ४८० र खुद्रा प्रतिकेजी ५०० रुपैयाँमा बिक्री हुने गरेको छ।

गाउँघरमा एक-दुई केजी लानेलाई पनि ५०० रुपैयाँमा नै दिने गरेको उनले बताए। कुखुरालाई दाना दिने र हेरचाह गर्ने कार्यमा उनलाई श्रीमती मनुले सघाउने गरेकी छन्। विगतमा गौरादहबाट दाना ल्याउने गरेका उनीहरूले अहिले घरमै धान, मकै लगायतबाट दाना बनाएर कुखुरालाई खुवाउँदै आएका छन्। 'थोरैले पुग्दै पुग्दैन' दाना बनाउन र खुवाउन निकै गाह्रो हुन्छ । दिनमा तीन चार पटक खुवाउँदा गलिने र सबैलाई पुग्ने गरी बाँड्न हम्मेहम्मे पर्ने मनुको अनुभव छ।

डेढ बिघा जमिनमा पशुपालन गर्ने योजनामा रहेका भट्टराई दम्पतीको फेन्सी पसल बेचेको सबै रकम अहिलेसम्म हात लागेको छैन। एक वर्षअघि ४१ लाखमा पसल बेचेका उनीहरू १५ लाख रुपैयाँ हात नलाग्दा चिन्तित छन्। यद्यपि केही गर्नुपर्छ भन्ने हिम्मत उनीहरूले हारेका छैनन्।

आगामी दिनमा ह्याचरी खोल्ने सोच रहेका उनीहरूले युट्युब र सामाजिक सञ्जाल हेरेर र लेखेका समाचार पढेर पशुपालनमा ध्यान तानिएको सुनाए।

पसल बेचेपछि त्यसै के बस्नु भनेर आफ्नै जमिनमा कृषिकर्म गर्ने योजनासाथ कुखुरापालन सुरु गरेको उनले बताए। पशुपालन व्यवसाय सञ्चालनका लागि अहिले उनीहरू बैंकबाट ऋण लिने तयारीमा छन्।

तीन महिनादेखि जारी बन्दाबन्दीले उनीहरूको योजना अलपत्र परेको छ। कामना विकास बैंकमार्फत ४० लाख ऋण माग गरेको भट्टराइले सुनाए। ऋण लिएर भएर पनि आफ्नो योजना पूरा गरेरै छाड्ने पुष्पको दृढता छ। 'अहिले सुरुसुरु नै छ,  त्यसैले कमाइ खासै राम्रो छैन,' उनीहरू दुवैले भने, 'पूरा फार्म सञ्चालन र खानेबस्ने राम्रो ठाउँ भए कसो आम्दानी नहोला? '


Leave a Reply

Your email address will not be published.