थारु महिला हस्तकला पोख्त बन्दै ‘अर्डर इमेलबाट, बुनाइ त्यही हेरेर’

थारु महिला हस्तकला पोख्त बन्दै ‘अर्डर इमेलबाट, बुनाइ त्यही हेरेर’

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं बर्दियाकी घुर्की चौधरीलाई शिक्षाले काममा अवरोध गरेको छैन। प्रौढ शिक्षामात्र लिएकी उनले हातको सीप र बुद्धिको विवेक लगाएर विभिन्न किसिमका कलात्मक सामग्री निर्माण गरिरहेकी छन्। 

स्थायी घर बर्दिया भए पनि हाल उनी नेपालगन्ज–१६ कोरियनपुर बस्छिन्। घरमै बसेर सीप देखाउने उनलाई बिक्रीका लागि ग्राहक खोज्नुपर्दैन। हातले बुनेका सामग्रीका लागि घरमै अर्डर आउँछ। 

उनले भनिन्, ‘कतिपयले घरमै आएर अर्डर गर्छन् त कतिले फोनबाट अर्डर दिन्छन्। सीप भएपछि कामको हर्जाे हुँदो रहेनछ।’
घुर्कीले मुनजन्य रेसादार वस्तुवाट आधुनिक डिजाइनका ढकिया, पेन होल्डर, साना मसिना जे पनि राख्न मिल्ने विभिन्न किसिम सामग्री बुन्ने गर्छिन्। ‘इमेलमा यस्तो चिज बुन्ने भन्ने अर्डर आउँछ। त्यही फोटो हेरेर अर्डर गरेको सामान बुनेर पठाउने गरेको छु,’ उनले सुनाइन्, ‘पहिलेदेखि नै बुन्दै आएकाले एकपटक देखेपछि बुन्ने आइडिया आइहाल्छ।’ 

हस्तकलाका सामान बुन्न थालेपछि पकेट खर्चका लागि उनले श्रीमानसँग हात फैलाउनुपरेको छैन। उनी हस्तकलाका सामान बुन्नेर बिक्रीमात्र गर्दिनन्।  विभिन्न ठाउँमा हुने मेला र महोत्सवमा थारु परिकार बिक्री गर्न पनि पुगेकै हुन्छिन्। 

वर्ल्ड भ्यू र सेसी नेपालको सहकार्यमा एकहप्ते तालिम लिएर काम थालेकी घुर्कीलाई अहिले काम गर्न भ्याइनभ्याई छ। ‘एउटा काम सकिएको हुँदैन, अर्को अर्डर आइहाल्छ,’ उनले भनिन्, ‘घरको काम र अर्डरअनुसारको सामग्र्री बुन्नुपर्ने भएकाले समयमा सामान दिन सकिँदैन।’ 

हस्तकलाका सामान बुन्न थालेपछि पकेट खर्चका लागि उनले श्रीमानसँग हात फैलाउनुपरेको छैन। उनी हस्तकलाका सामान बुन्नेर बिक्रीमात्र गर्दिनन्।  विभिन्न ठाउँमा हुने मेला र महोत्सवमा थारु परिकार बिक्री गर्न पनि पुगेकै हुन्छिन्। 

लकडाउनभन्दा अगाडि  काठमाडौं, नेपालगन्ज, कोहलपुरलगायत विभिन्न स्थानमा भएका औद्योगिक मेलामा थारु परिकार बनाएर बिक्री गर्ने गर्थिन्। उनले मेलाबाट फाइदा भएको रकमले घर मर्मतको काम गरेको सुनाइन्। 

उनीलगायत केही महिला मिलेर हरचाली समूह गठनसमेत गरेका छन्। हरचालीलाई अब केही समयभित्र दर्ता गर्ने सोच छ। 
घुर्की चौधरी जस्तै नेपालगन्ज–१२, शान्तिनगर बस्दै आएकी दाङकी निरु चौधरी र नेपालगन्ज घरबारी टोल बस्ने मनु चौधरीले पनि हस्तकलाका सामग्री बुन्दै आएका छन्। दुवै हरचाली समूहमा आबद्ध छन्।

सबैजना एकै ठाउँमा बसेर बुन्दा एकले नजानेको कुरा अर्कोबाट सिक्ने र सिकाउने भएकाले सजिलो भएको धारणा उनीहरूको छ। घरमा बसेर दिन बिताउनुभन्दा सीप सदुपयोगसँगै घरखर्चका लागि रुपैयाँ पनि जुटिरहेको निरु चौधरीले बताइन्। हस्तकलाका सामान पूर्खादेखि बुन्दै आएकाले काम गर्दा सजिलो भएको उनको भनाइ छ। 

आफ्नो पौरखले एक रुपैयाँ पनि नकमाउने थारु महिलाहरूले अहिले मासिक ५ देखि ८ हजार रुपैयाँ कमाउन थालेका छन्। पहिले घरखर्चका लागि मात्र बुन्दै आएका उनीहरू अहिले व्यावसायिक बन्दै गएका छन्।

उनीहरूले एउटा पेन होल्डरको ३ सयदेखि साढे ३ सय रुपैयाँसम्म लिने गरेका छन्। बिहानको खाना बनाएर पेन होल्डर बुन्न थाल्ने हो भने साँझ ५ बजेसम्म एउटा पेन होल्डर बुन्न सकिने निरुले बताइन्। 

आफ्नो पौरखले एक रुपैयाँ पनि नकमाउने थारु महिलाहरूले अहिले मासिक ५ देखि ८ हजार रुपैयाँ कमाउन थालेका छन्। पहिले घरखर्चका लागि मात्र बुन्दै आएका उनीहरू अहिले व्यावसायिक बन्दै गएका छन्। ‘यो पेसालाई अव व्यावसायीकरण गर्दै अगाडि बढाउने सोचमा छौं,’ निरुले भनिन्।

हस्तकलाका सामग्री बुन्ने कच्चा पदार्थ किन्नु नपर्ने भएकाले उनीहरूलाई पेसा सञ्चालन गर्न सजिलो भएको छ। 
‘ढकिया र गुन्द्री बुन्ने कच्चा पदार्थ गाउँघरमा सजिलै पाइन्छ,’ निरुले भनिन्, ‘किन्नुपरे पनि सस्तो मूल्यमा पाइने भएकाले पेसा चलाउन सजिलो भएको छ।’ 

‘जहाँ इच्छा त्यहाँ उपाय भनेझैं काम गर्न चाहनेलाई कसैले रोक्न सक्दैन,’ उनले दाबी गरिन्, ‘घरपरिवारबाट पनि राम्रो सहयोग पाउँदा पेसा चलाउन मदत मिलेको छ।’ हातमा सीप भएर त्यत्तिकै बसिरहेकालाई उनीहरूले सीपको सदुपयोग गर्न आग्रह गरेका छन्। 


Leave a Reply

Your email address will not be published.