दाङमा पनि देखियो सलह

दाङमा पनि देखियो सलह

दाङमा पनि विनासकारी सलह किरा देखा परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा आइतबार सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

आइतवार विहान तुलसीपुर ४ का स्थानीयले आफ्नो ठाउँमा सलह किरा देखिएको खवर गरेपछि कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालसहितको टोली उक्त स्थानमा पुगेको थियो। उक्त टोलीले तुलसीपुर उपमहानगरपालिका ४ मा देखा परेको किरा सलह भए नभएको परिक्षणका लागि नार्कको कार्यालयमा पठाएको र त्यहाँबाट सलह किरा भएको पुष्टि भएको प्रमुख धितालले जानकारी दिएका छन्।

तुलसीपुरमा देखा परेको सलह किरा झुण्ड सानो भएको किसानलाई त्रसित नहुन समेत कृषि ज्ञान केन्द्र दाङले आग्रह गरेको छ। ‘स्थानीयले खवर गरेपछि बुझ्नका लागि हामीले उक्त स्थान पुगेका थियौ,’कृषि ज्ञान केन्द्रका प्रमुख धितालले भने, ‘हामी त्यहाँ पुगेर उक्त किरा सलह भए नभएको प्रमाणित गर्न नार्क पठाएका थियौ, त्यहाँबाट सलह भएको पुष्टि भएको छ।’ उक्त स्थानमा देखिएको सलह किरा सानो समूहमा रहेकाले किसानलाई त्रसित नहुने समेत धितालले आग्रह गरे।

जिल्लामा देखिएको सलह कुनै झुण्डबाट छुट्टिएर आएको आइपुगेको जस्तो देखिएको उनले बताएका छन्। थोरै सङ्ख्यामा रहेकाले किसानलाई छोपेर नियन्त्रणमा ल्याउन समेत आग्रह गरेको बताए। उनले अहिले नै रासायनिक औषधी छिट्नुपर्ने अवस्था नभएको समेत बताएका छन्। 

‘सलह देखिएपनि किसानको बालीमा कुनै असर देखिएको छैन,’ उनले भने, ‘अहिले तुलसीपुरको वडा नम्बवर ४ मात्र देखा परेको छ, अन्य स्थानमा भने अझै देखा परेको छैन।’


Leave a Reply

Your email address will not be published.