भक्तपुर नगरद्वारा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण विधेयक प्रस्तुत  

भक्तपुर नगरद्वारा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण विधेयक प्रस्तुत  

भक्तपुर नगरपालिकामा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक प्रस्तुत गरिएको छ। आइतबार बसेको नगरपालिकाको सातौ नगरसभाको बैठकमा भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७ प्रस्तुत भएको हो। 

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले विधयेक पेश गरेका थिए।

विधेयकमा विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रमा अत्यधिक धुँवा तथा रसायनिक पदार्थ निष्कासन हुने भएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि विधेयक तयार गरी पेश गरिएको जनाएको छ। 

विधेयकमा भक्तपुर नगरमा कसैले तोकिएको समय वा स्थानमा बाहेक फोहरमैला फालेमा कार्वाही हुनेछ। साथै चोक तथा खुला क्षेत्रमा स्थानीय वडा कार्यालयको अनुमति विना जथाभावी सवारीसाधन पार्किङ गरेमा कसुवार ठहर्ने उल्लेख गरिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर नगर क्षेत्रमा बढ्दो सहरीकरणसँगै नगरलाई मौलिक स्वरुप कायम गर्न यो विधेयक ल्याएको बताए। नगरभित्र वातावरणीय संरक्षणमार्फत स्वच्छता कायम गर्दै ध्वनी, दृश्य एवम् वातावरणीय प्रदूषण नियन्त्रण गर्नको लागि विधेयक बनाएको हो, नगरप्रमुख सुनिल प्रजापतिले भने।

विधेयकमा विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रका घर भवनमा तोकिएबमोजिम परम्परागत छाना नराखेमा, फोहरबाट निस्केको दूषित पानी सार्वजनिक स्थल, सम्पदा, पानीको स्रोत वा अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराए, पूजाआजा वा परम्परागत संस्कारमा बाहेक सार्वजनिक स्थानमा पशुपंक्षीको वध गर्ने र पोल्ने गरे, घर पालुवा जनावरहरू सार्वजनिक खुला क्षेत्रमा जथाभावी छोड्ने र फोहर (दिसा, पिसाब) गराए कसुर ठहर्नेलगायतका व्यवस्थाहरू गरिएको छ।

विधेयक छलफलमा सभासद्हरू राजेन्द्र माक, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सितादेवीनेपाली, ज्ञानकुमार मगजु, कृष्णगोपाल चौगुठी र गोबिन्द दुवालले विद्युतीय शवदाह गृह निर्माण गर्नुपर्ने, सार्वजनिक बाटोमा राँगो काटेर फोहर गर्नेलाई दण्ड गरिनुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने, वडा निरीक्षकलाई नापजाँचको तालिम दिनुपर्ने, कमलविनायक पोखरीलाई पनि सांस्कृतिक क्षेत्रभित्र परिनुपर्ने, फोहर व्यवस्थापनको लागि बाल्टिन वितरण गर्नुपर्नेलगायतका धारणा व्यक्त गरे। सभाको विशेष समयमा सभासद्हरूले नगरको विकास निर्माण र समसामयिक विषयहरूबारे आ–आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए। 

सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक रबिन्द्र ज्याख्वले सरकारले ढिलो बजेट पठाएका कारण नपाका विद्यालयहरूमा स्यानिटरी प्याड वितरण गर्न असमर्थ भएको बताउनुहुँदै लकडाउनको समयमा पनि जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले बिरामीहरूको सेवा निरन्तर गरिरहेको प्रष्ट पारे।


Leave a Reply

Your email address will not be published.