सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ

मनसुन समयमै सुरु हुँदा यस वर्ष सुदूरपश्चिम प्रदेशमा करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष असार १५ सम्म करिब ४० प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ भएको छ। 

प्रदेशभर जम्मा एक लाख ३७ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार शनिबारसम्म झन्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको हो। १७ औं राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खगेन्द्रप्रसाद शर्माले ४९ प्रतिशत बढी जमिनमा रोपाइँ सम्पन्न भएको बताए। 

सुदूरपश्चिम कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले यस वर्ष समयमै बर्षा हुँदा छिटो रोपाइँ सुरु भएको बताए। यसरी नै पानी परिरहे समयमै रोपाइँ सकिने र धान उत्पादनमा समेत वृद्धि हुने निर्देशक जोशीले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ धान दिवस मनाउने भएको छ। धान दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम भने नगरिने मन्त्रालयका प्रवक्ता शर्माले बताए।
 


Leave a Reply

Your email address will not be published.