डोल्पा र जुम्लामा सकियो, कर्णालीमा सतप्रतिशत रोपाइँ हुने
जुम्लामा जेठमा लगाएको मार्सी धान अहिले गोड्ने बेला भएको छ। चिसोका कारण असारमा रोपेको धान कात्तिकमा नपाक्ने भएकाले जुम्लामा वैशाख अन्तिम सातादेखि जेठसम्म धान रोप्ने गरिन्छ।
समयमै वर्षात भएपछि खेतमा लगाएको मार्सी गोड्ने बेला भइसकेको जुम्ला गुठीचौर गाउँपालिका–२ की विपना न्यौपाने बताउँछिन्।
गत वर्ष चार रोपनीमा मार्सी खेती गरेकी उनले यसपालि ६ रोपनीमा मार्सी लगाएकी छन्। उनले भनिन्, ‘आकासे पानीको भर पर्नुपथ्र्यो। पानी नपुगेपछि बाँकी बारीमा कोदो छथ्र्यौ। यसपालि राम्रो पानीे पर्यो। सबै खेतमा मार्सी लगाएका हो।’
डोल्पा र जुम्लाका अधिकांश स्थानमा मार्सी धान रोप्ने गरिन्छ। असिनापानी र तुसारोबाट बचाउन कर्णालीका हिमाली जिल्लामा जेठमै रोपाइँ सकिन्छ।
विपनाले भनिन्, ‘मार्सी जति चाँडो रोप्यो त्यति चाँडो पाक्छ, चाँडो रोपेमा असिनापानी र तुसारोको क्षतिबाट जोगाउन सहज हुुन्छ।’
असार १० गतेसम्म आइपुग्दा डोल्पामा शतप्रतिशत रोपाइँ सकिसकेको छ भने जुम्लामा ९५ प्रतिशत रोपाइँ भएको छ। जुम्लामा २ हजार ८ सय हेक्टर र डोल्पामा २ सय ७६ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ।
कर्णालीमा शतप्रतिशत रोपाइँको सम्भावना
यस वर्ष भने कर्णालीमा शतप्रतिशत धान रोपाइँ हुने सम्भावना छ। गत वर्षको तुलनामा यस वर्ष धेरै भूभागमा समयमै धान रोपाइँ भइसकेको छ। कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाका अनुसार हालसम्म कर्णालीका ३५ प्रतिशतभन्दा धेरै भूभागमा धान रोपाइँ सकिसकेको छ।
कुल ४९ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपिने कर्णालीमा हालसम्म १७ हजार ५ सय ६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको उनले जानकारी गराए। उनले भने, ‘समयमै वर्षा सुुरु भएपछि कृषकले रोपाइँ गर्न थालेका हुन्।’
आधा मात्रै फलाउँछ कर्णाली
कर्णालीलाई अझै पनि २५ हजार मेट्रिक टन धान अभाव छ। प्रदेशका १० जिल्लामध्ये तीन जिल्लाले मात्रै आफूलाई पुग्ने धान उपादन गर्नसक्ने सामथ्र्य राख्छ। रुकुम पश्चिम, सल्यान र सुर्खेत धान उत्पादनमा अग्रस्थानमा छन्। अन्य जिल्ला भने आयातकै भरमा छ।
आर्थिक वर्ष २०७४÷०७५ मा कर्णालीभर १ लाख ७२ हजार ५ सय ५४ मेट्रिक टन धान उत्पादन भयो। २०७५÷०७६ मा भने उत्पाकदत्व बढेर १ लाख ७३ हजार ४ सय ४२ मेट्रिक टन धान धेरै उत्पादन भएको थियो। तर कर्णालीका लागि वर्षभर ३ लाख ५२ हजार एक मेट्रिक टन धान आवश्यक छ।
आवश्कताको आधा परिमाण मात्र कर्णालीमा उत्पादन हुन्छ। कर्णालीका १७ लाखभन्दा धेरै जनसंख्याले वार्षिक ३ लाख २६ हजार ५ सय ७३ मेट्रिक टन धान खपत गरिरहेका छन्। यो परिमाण कर्णालीमै उत्पादित र आयातित गरिएको धानको परिमाण हो।
अझै पनि २५ हजार ४ सय २८ मेट्रिक टन धान कर्णालीलाई अभाव रहेको कृषि बिकास निर्देशनालय सुर्खेतले जनाएको छ।