सुत्केरी बोकेको एम्बुलेन्स १६ घन्टादेखि बाटोमै अलपत्र

सुत्केरी बोकेको एम्बुलेन्स १६ घन्टादेखि बाटोमै अलपत्र

पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका-३ जाक्सी खोलामा गएको पहिरोले गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएसँगै कालिकोट अस्पतालबाट वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालका लागि रेफर गरी ल्याइएकी सुत्केरी बोकेको एम्बुलेन्स पनि १६ घण्टादेखि बाटोमै अलपत्र परेको छ। 

आयोमेलसँगको टेलिफोन सम्पर्कमा बिरामीका श्रीमान राजकुमार शाहीले भने, ‘रातिदेखि यही रोकिएका छौं। बिरामीको अवस्थामा सुधार नभएपछि कालिकोट अस्पतालबाट सुर्खेतका लागि एम्बुलेन्समा ल्याएका थियौं। अहिलेसम्म बाटो नबन्दा अलपत्र परेका छौं।’

आइतबार बिहान कालिकोट अस्पतालमा खाँडाचक्र नगरपालिका-१ निवासी वसन्ती शाहीले छोरालाई जन्म दिएकी थिइन्। आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि कालिकोट अस्पतालका चिकित्सकले वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा जान सुझाएका थिए। 

‘हामीले यहाँको आठबिस नगरपालिकामासमेत खबर गरेका थियौं। यसका साथै छिमेकी जिल्ला अछाममासमेत खबर गरेका थियौं। अहिले एक बजेसम्म पनि कहींकतैबाट पहिरो हटाउन पहल भएको छैन। सुत्केरी र बच्चाको स्वास्थ्य थप जटिल बन्दै गइरहेको छ', उनका पतिले भने।


Leave a Reply

Your email address will not be published.