‘सरकारले धान दिवसकाे होइन किसानको समस्या बुझोस्’

‘सरकारले धान दिवसकाे होइन किसानको समस्या बुझोस्’

आज राष्ट्रिय धान दिवस। विश्वभर फैलिएको कोरोना कहरका कारण यसपालि सरकारी स्तरबाट सुदूरपश्चिममा धान रोपाइँ गर्ने कुनै औपचारिक कार्यक्रम भएन। 

तर किसानलाई भने सरकारको उपस्थिति वा अनुपस्थितिको कुनै प्रवाह छैन। असार लाग्यो कि किसानहरू खेतमा जानैपर्छ अनि हिलोमा खेल्नैपर्छ। कोरोनाको कारण देखाएर अफिसमै बस्ने छुट सरकारी कर्मचारीलाई होला। तर कोरोनाको कारण देखाएर घरमै बस्ने छुट किसानलाई छैन। किनकि यो ‘मानो’ रोपेर ‘मुरी’ फलाउने बेला हो।  वर्षभरको अन्नको जोहो गर्ने समय हो।

‘सरकारले धान दिवसमा कुनै कार्यक्रम बनाएन भन्ने सुनेको छु,’ धनगढी–३ बोराडाँडीका किसान हेमराज विष्टले भने, ‘हामीलाई यसरी बहाना बनाएर घरमा बस्ने छुट छैन, अहिले घरमै बसे वर्षभरि खान कस्ले दिने?’ 

सरकारले तडकभडक गरेर एकदिन खेतमा आउनुको महत्त्व नभएको उनको भनाइ छ। ‘सरकारले किसानका समस्या कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने हो,’ विष्ट भन्छन्, ‘त्यतातिर अहिलेसम्म सोचेन, एकदिन खेतमा आएर धान धेरै फल्दैन, काम गर्ने किसानले नै हो।’
सरकारले धान दिवस मनाए पनि नमनाए पनि किसानलाई कुनै प्रवाह नहुने गोदावरी नगरपालिका–११ ओलानीकी राजु बिकको तर्क छ। ‘यस वर्ष कोरोनोको कारण देखाएर सरकारको उपस्थिति खेतमा भएन,’ उनले भनिन्, ‘यसअघिका वर्षमा केको महामारी थियो र सरकारका मन्त्रीले कोठामै रोपाइँ गर्ने गर्दथे?’ 

‘धान रोप्ने काम सरकारले नभई किसानले नै गर्ने हो,’ उनले भनिन्, ‘सधैं किसानलाई हेप्ने सरकारी दृष्टिको अन्त्य होस् भन्ने हाम्रो चाहना हो, जुन कहिल्यै हुँदैन।’

सरकारको उपस्थिति खेतमा नभई किसानका समस्या समाधान गर्ने स्थानमा हुनुपर्ने धनगढी–१२ का जीवन रेग्मीको अपेक्षा छ। ‘किसान रासायनिक मल नपाएर समस्यामा परेका छन्,’ उनले भने, ‘सिंचाइको पर्याप्त सुविधा नहुँदा वर्षा नभए खेत बाँझै राख्नुपर्ने स्थिति छ, एकदिन खेतमा गएर फोटो खिच्दैमा उत्पान बढ्दैन।’ 
 

५० प्रतिशत बढी रोपाइँ सम्पन्न
असार मसान्तसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सकिएको छ। एक लाख ७४ हजार ६ सय ५ हेक्टर क्षेत्रफल जमिनमा वर्खेधान खेती गरिँदै आएको सुदूरपश्चिममा समयमै वर्षा हुँदा ५० प्रतिशत बढी रोपाइँ सम्पन्न भएको हो। 

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा लगभग रोपाइँ सम्पन्न भए पनि तराईमा जारी छ। ‘यस वर्ष समयमै वर्षा भएका कारण रोपाइँ पनि समयमै सकिने देखिएको छ,’ प्रवक्ता शर्माले भने, ‘सिंचाइका साधन पनि पहिलेको तुलनामा थपिएका छन्।’ 

सुदूरपश्चिमको कुल धान उत्पादन क्षेत्रमध्ये कैलाली कञ्चनपुरमा मात्रै एक लाख १० हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ हुने गरेको उनले बताए। उनका अनुसार कैलालीमा ७० हजार हेक्टर क्षेत्रफल तथा कञ्चनपुरमा ४१ हजार हेक्टर क्षत्रफलमा धान रोपाइँ हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published.