कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै संसद चल्न नदिने प्रतिपक्षीको चेतावनी

कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै संसद चल्न नदिने प्रतिपक्षीको चेतावनी

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित रुपमा अबरुद्ध पार्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ। 

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले ठोस योजना नआए सदन अनिश्चित कालका लागि अवरुद्ध पार्ने चेतावनी दिएका हुन्। 

लगातार तीन बैठक अवरुद्ध पारेको प्रतिपक्षी दलले सुदूरपश्चिम प्रदेश सरकारको गैरजिम्मेवारीका कारण सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएको बताएका छन्। 

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरि कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले ठोस कदम नचालुन्जेल बैठक चल्न नदिने घोषणा गरे। 

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले प्रदेश सरकार गैर जिम्मेवार हुँदा सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन यस्तो कदम चालेको बताए। 

‘क्वारेन्टाइनमा रहेका नागरिकलाई विना चेकजाँच घर पठाएपछि मात्रै संक्रमण पुष्टि हुनथालेको छ,’ डाक्टर रावलले भने, ‘अस्पतालमा रहेका संक्रमितलाई पनि निको नहुँदै घर पठाइन थालिएको छ, यस्ता समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै उपयुक्त बाटो खोजोस्।’

‘कोरोना नियन्त्रणका नाममा सुदूरपश्चिममा ९३ करोड खर्च भइसकेको छ,’ संसदिय दलका नेता रावलले भने, ‘एउटा पिसिआर मेशिनको भरमा परीक्षण भइरहेको छ, अर्को मेशिन थप्न माग ग-यौ तर अझै सुनुवाई भएन।’ उनले पटक पटक यी बिषयमा आवाज उठाउँदा पनि प्रदेश सरकारले बेवास्ता गरेकाले बाध्य भएर जनताको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सभा बैठक अवरुद्ध गरेको बताउँदै यि माग ठोस रुपमा कार्यान्वयन नहुन्जेल अवरोध जारिनै रहने बताए।

जनता समाजबादी पार्टीका कृष्ण कुमार चौधरीले प्रदेश सरकारले कोरोना रोकथाम र ब्यबस्थापनमा प्रभावकारी काम गर्न नसकेका कारण बाध्य भएर प्रदेश सभा बैठक अवरुद्ध पारेको बताए। ‘योजना बाँडफाँट, नयाँ बजेट लगायत थुप्रै बिषयमा प्रदेश सरकारले गरेका कामप्रति असहमति छ। तर, अहिलेको मुख्य बिषय कोरोना भाइरसबाट कसरी जनतालाई बचाउने भन्ने रहेकाले त्यसैमा हामी केन्द्रित छौं।’


Leave a Reply

Your email address will not be published.