जिब्रोमै झुन्डिएको जुजु धौ

जिब्रोमै झुन्डिएको जुजु धौ

फेरि नपाउला है छिटो लिन जाउँ? असार १५ मा ढिला भयो भने दही किन्न नपाइएलाकी भन्ने चिन्तामा थिइन् बिनु पञ्ज।

भक्तपुरे दहीको सधैं विशेष चर्चा हुन्छ। आज त झन् असार १५। बिहानैबाट भक्तपुरका डेरीहरूमा बिहानैबाट दही किन्नेको भिडभाड हुने गर्छ। 

आज दही किन्न आउने धेरै हुन्छन् भन्दै आफू मात्र नभएर साथीलाई बोलाउन पनि हतारिएकी थिइन् उनी। भन्दै थिइन्- बेलुका ३ बजेपछि पसलमा दही नै पाइँदैन।

भक्तपुरमा दही पसललेदखि दही किनेहरूको भ्याइनभ्याइ हुन्छ। उनी मात्र होइन त्यस्तै मनीष प्रजापति असार १५ मा दही खानुपर्ने नियम जस्तै भइसकेको बताउँछन्। 

पहिला सबैजना धान रोप्न व्यस्त हुने भए पनि अहिले असार १५ दही खाने दिनको रूपमा मात्रै चित्रण भएको र यो फेसन जस्तै बनेको उनको गुनासो छ।

पहिला काम गर्ने मान्छेहरूको उर्जा बढाउन दही खानुपर्छ भन्ने मान्यता रहेको विज्ञहरूको भनाइ छ। तर, आजभोलि एकदिन पनि खेत नजाने धान रोप्न नजान्नेहरूले पनि असार १५ मा दही खान चाहिँ नभुल्ने प्रजापतिले सुनाए। 

भक्तपुर जुजु धौ व्यवसाय संघका अध्यक्ष कृष्णगोपाल सैजु अन्य दिनको तुलनामा असार १५ मा दहीको पाँच गुणा बढी व्यापार हुने बताउँछन्। आज मात्रै आफूले मात्र ५ हजार लिटर दूधको दही बनाएको सैजुले बताए। 

सैजुले ३५ देखि ८०० रुपैयाँसम्म पर्ने दही बनाउने गरेको सुनाए। उनले आधि लिटरदेखि ४ लिटरसम्म अट्ने भाडोमा दही जमाउने गरेको बताए। 

अहिले पनि भक्तपुरका स्थानीयबासीहरू माटोका भाडामा रहेको दही नै खोज्दछन्। तर, माटोको भाडा प्लाष्टिकको भाडाभन्दा महंगो पर्ने भएकोले धेरै प्लाष्टिकको भाडामा नै दही जमाउने गरेको उनले सुनाए। बाहिरका मानिसलाई भने प्लास्टिकको भाडा नै लैजान सहज हुने उनको भनाइ छ।

तथ्यांक अनुसार भक्तपुरमा ६५ परिवारले दही बनाउँछन्। तर, दही संघमा भने ५० जना मात्रै आवद्ध छन्। 

भक्तपुरको दही काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि जाने गरेको छ। यहाँ दही मिठो हुने गर्दछ। जुजु धौ सबैको जिब्रोमा झुडिएको छ। भक्तपुर पुग्नेहरूले जुजु धौको स्वाद लिएकै हुन्छन्।


Leave a Reply

Your email address will not be published.