जगाती नाकाबाट उपत्यका प्रवेश गर्नेको संख्या बढ्दो

जगाती नाकाबाट उपत्यका प्रवेश गर्नेको संख्या बढ्दो

पूर्वी नाकाबाट भक्तपुर भएर उपत्यका प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगा हुर्दै जगातीबाट उपत्यका प्रवेश गर्नेहरूको संख्या दैनिक बढ्दै गएको हो। सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएसँगै उपत्यका प्रवेश गर्नेको संख्या बढ्दो छ। 

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी पछिल्ला दिनमा दैनिक तीन सयको हाराहारीमा उपत्यका प्रवेश गर्ने गरेको जनाए।

केही दिनअगाडि दुई सयको संख्यामा आउने गरेकामा हाल त्यो संख्या बढेर अहिले सालाखाला दैनिक तीन सय पास लिएर उपत्यका प्रवेश गर्ने गरेको बताए। 

पास हुनेले मात्रै उपत्यका प्रवेश पाउँछन्। बिनापास आएकालाई उपत्यकामा प्रवेश निषेध छ। डिएसपी जोशीले दिएको तथ्यांकअनुसार असार ८ देखि १४ गतेसम्म मात्र ६ सय ६७ सवारी साधनलाई उपत्यका छिर्न दिइएको छैन। 

पासबिना आएका ती सवारीसाधनलाई फर्काइएको हो। ती यात्रुहरूसँग चाहिने कागजात नपुगेकाले फर्काएको उनले बताए। कोरोना भाइरस संक्रमण दिनदिनै बढ्दै गएकोले चेकिङमा कडा गरेको जोशीले सुनाए। 

'अझ हामीले साँगा नाकामा पनि चेकपोष्ट बनाउन लागेका छौं', उनले भने। साँगा चेक पोष्टमा र जगाती चेकपोष्टमा चेकिङ गरिसकेपछि मात्र उपत्यका छिर्न सकिने उनले बताए।

यसका लागि त्यहाँ उपत्यका प्रवेश गर्नेहरू सबैको नामावली नै राख्ने बन्दोबस्त मिलाएको छ। यात्रुहरू सवारी साधानबाट ओर्लेर इन्ट्री गरेपछि मात्रै पास भएकालाई त्यहाँबाट प्रवेश गराइन्छ। 

टाढाटाढादेखि आएकालाई समेत फर्काउनुपरेको भन्दै उनले सम्बन्धित जिल्लाको सिमानाबाटै रोकेको भए उनीहरूलाई समस्या नपर्ने उनको सुझाब छ। त्यसकारण सीमा नाकामा नै चेक गरी त्यहीबाट रोकिने बन्दोवस्त गर्न उनले केन्द्रीय सरकारको ध्यानाकर्षण गराए। 

सवारी पास नलिई आउनेमा ६ पांग्रे सवारी साधान १० वटा, ४ पाग्रे २ सय ७९ र २ पाग्रे ३ सय ८६ सहित गत हप्तामा मात्र ६ सय ६७ वटा गाडीका १ हजार ५ सय ३ यात्रुलाई प्रहरीले फर्काएको तथ्याङ्क उनले दिए।

असार ८ गते बिहान ६ बजेदेखि असार ९ गते बिहान ६ बजेसम्म २४ घण्टाको अवधिमा सवारी पास लिएर जगाती चेकपोष्टबाट १ हजार १ सय ३२ वटा सवारी साधन भित्रिएको उनले बताए। जसमा १ हजार ८ सय ७ यात्रु थिए। यात्रु बोकको गाडीबाहेक एम्बुलेन्स, दमकल, टिपरहरू भने प्रवेश पाउँछन्।


Leave a Reply

Your email address will not be published.