प्रधानमन्त्रीको राजीनामा माग्दै नागरिकता विधेयकविरुद्ध कांग्रेसको प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग्दै नागरिकता विधेयकविरुद्ध कांग्रेसको प्रदर्शन

नागरिकता ऐन संशोधन गर्न सरकारले ल्याउन लागेको विधेयकविरुद्ध नेपाली कांग्रेसले बुधबार पनि जनकपुरमा प्रदर्शन गरेको छ। नागरिकता विधेयक विभेदकारी रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै विरोधप्रदर्शन गरेको हो।

नेपाली कांग्रेस जनकपुर नगरसमितिको अगुवाइमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। 

जनकपुरधाम–४ स्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन मुरली चोक, राम चोक, जानकी चोकलगायतका स्थानहुँदै जनक चोक पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै कांग्रेस नेताहरूले सरकारले नागरिकता संशोधन विधेयक ल्याएर मधेश र भारतबीचको सम्बन्ध तुहाउन खोजेको दाबी गरेका छन्। मधेश र भारतका नागरिकबीच वर्षौंदेखि हुँदै आइरहेको वैवाहिक सम्बन्धलाई नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान राखेर सरकारले सांस्कृतिक र सामाजिक सम्बन्धमाथि प्रहार गरेको उनीहरूको भनाइ थियो।

वर्षौंदेखिको सम्बन्ध अन्त्य गर्ने उद्देश्यले ल्याइएको विधेयक फिर्ता नगरिए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्।

नगरसभापति मनोज साहको नेतृत्वमा भएको विरोध प्रदर्शनको कोणसभामा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सांसद शिवचन्द्र चौधरी, तरुण दल धनुषाका सभापति संजयलाभ कर्ण, महिला संघकी सरस्वती मण्डललगायतका नेताहरूले सम्बोधन गरेका थिए।

नागरिकता विधेयकविरुद्ध कांग्रेसले जनकपुरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ। जनकपुरका साथै कांग्रेसले बुधबार प्रदेश २ को महोत्तरी, रौतहटलगायतका जिल्लाहरूमा समेत विरोध प्रदर्शन गरेको छ।


Leave a Reply

Your email address will not be published.