बझाङ पहिरो अपडेट: दुईजनाको शव भेटियो
अबिरल वर्षासँगै बझाङको केदारस्यूँ गाउँपालिका-८ मेल्लेसमा गएको पहिरामा परिएकामध्ये दुईजनाको शव भेटिएको छ।
११ वर्षे प्रयाग जेठारा र सात वर्षीया अस्मिता जेठाराको शव भेटिएको स्थानीय सुरेश जेठाराले बताए। उनका अनुसार समा पहिरो गाउँमा पस्दा चार परिवारका सातजना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा मेल्लेसका ४४ वर्षीया रामदेवी जेठारा, उनकी १५ वर्षे छोरी शान्ति जेठारा, ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षे छोरा प्रयाग जेठारा छन्।
सोही ठाउँका नवराज जेठाराकी ११ बर्षिया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० बर्षे छोरा गिरिजा जेठारा र ८० बर्षे दले जेठारा पनि छन्। पहिरोमा परी अन्य व्यक्ति पनि वेपत्ता भएको हुनसक्ने भए पनि विवरण नआएको उनले बताए।
शुक्रबार राति एक बजेतिर गाउँको विचमा बग्ने खोलाले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको उनले बताए। पहिरो आएको थाहा पाएपछि केही व्यक्ती भने घरबाट भागेर बाँच्न सफल भएका थिए।
पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको जेठाराले बताए।
दुई खोलाको विचमा गाउँ रहेका कारण घटना स्थलमा अझै पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।