बझाङ पहिरो अपडेट : नपत्याउने खोलाले बगायो मल्लेसवासीलाई

बझाङ पहिरो अपडेट : नपत्याउने खोलाले बगायो मल्लेसवासीलाई

नेपाली समाजमा एउटा प्रचलित उखान छ ‘नपत्याउने खोलाले बगाउँछ’। बझाङमा यस्तै उखान यथार्थमा परिणत भएको छ।

जिल्लाको केदार स्यू गाउँपालिका-८ मल्लेसमा रहेको खहरे खोलाले गाउँलाई यतिसम्म विध्वङ्‌स बनाउला भन्ने गाउँलेलाई कहिल्यै लागेको थिएन। बर्खामा सामान्य पानीको बहावमात्रै हुने खोला सुख्खायाममा प्राय: सुख्खा जस्तै हुन्थ्याे।

स्थानीय शिव जेठाराका अनुसार गाउँको विचमा भएर बग्ने खोलामा आउने पानीको प्रयोग गरेर स्थानीयले लघु जलबिद्युत उत्पादन मात्रै गरेका थिएनन्, त्यही पानीको सदुपयोग गर्दै वारीमा तरकारी फलाएर अर्गानीक तरकारी खान पाएका थिए।

यसअघिसम्म आम नागरिकका लागि बरदान सावित भएको खोला शुक्रबार राती भने अभिश्राप बन्यो। ‘शुक्रबार वेलुकादेखीनै मल्लेसमा अविरल बर्षा भइरहेको थियो,’ स्थानीय शिव जेठाराले भने, ‘गाउँ माथी पहिरो खस्ला र खोलाले बगाउला भन्ने कल्पना थिएन, असुरक्षित महसुस नगरेका स्थानीय सधैझै ढुक्कसँग सुतेका थिए।’ तर, नपत्याउने ‘खोलाले बगायो’।

केदार स्यू गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले पहिरोका कारण पुरै गाउँनै असुरक्षित बनेका कारण स्थान्तरण गर्नुपर्ने बताए। अनका अनुसार अविरल बर्षाका कारण शुक्रबार राती आएको पहिरो खोलामा पसेपछि केही समय ताल बनेको हुनसक्दछ। 

सो ताल एक्कासी फुटेपछि एकैपटक माटो र ढुंगासहित गाउँमा पस्दा ठूलो क्षेती भएको आकलन गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले गरेका छन्। ‘खोलामा बनेको तालको पानी एक्कासी फुटेर गाउँमा आउँदा ठूलो क्षेती भएको देखिन्छ,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने, ‘अब मल्लेस गाउँ सदाका लागि जोखिममा परेको छ, ७०–८० घर परिवारलाई अर्को ठाउँमा स्थान्तरण गर्नुको विकल्प छैन।’ 

मल्लेसमा शुक्रबार राती आएको बाढीका कारण केदार स्यू का १८ घर पहिरोमा पुरिएका छन् भने कम्तिमा पनि ७ जनाको मृत्यु भएको छ। पहिरोका कारण गाउँमा उज्यालोको श्रोतकारूपमा रहेको गण्डकी लघु जलविद्युत आयोजना बगेको छ। 

गाउँमै रहेको गण्डक बजारका पशलमा क्षेती पुगेको छ भने ठूलो संख्यामा पशु चौपाया हराएका छन्। पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको जेठाराले बताए।


Leave a Reply

Your email address will not be published.