दाङमा यसवर्ष एक लाख टिमुरका विरुवा रोपिँदै
दाङमा यसवर्ष १ लाख बढी टिमुरका विरुवाहरू रोपिन थालिएको छ। जडीबुटी खेतीका माध्यामबाट नागरिकको जीवनस्तरमा आयआर्जन बढाउने उद्देश्यले यसवर्ष जिल्लाको पहाडी क्षेत्रमा एक लाख टिमुरका विरुवा रोप्न थालिएको हो।
वृक्षारोपनका लागि डिभिजन वन कार्यालय दाङले ३ वटा नर्सरीमा गरीमा १ लाख टिमुरका विरुवा तयार भएको जानकारी दिएको छ। जस मध्य केही विरुवा तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा रोपिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन्।
यो वर्ष दाङलाई टिमुर वर्षको रुपमा बृक्षारोपण गरिन थालेको ज्ञवालीले बताए। ‘दाङका पहाडी क्षेत्रलाई लक्षित गरी एक लाख टिमुरका विरुवा यो वर्ष रोपिदैछ’ प्रमुख ज्ञवालीले भने, ‘टिमुरका विरुवा रोप्न तुलसीपुरबाट सुरु भएको छ,बाँकी विरुवा जिल्लाका अन्य ठाउँमा रोप्ने तयारी भैरहेकोछ।’ स्थानीय जनतालाई रोजगारीसँगै आत्मनिर्भर बनाउने सहयोग पु-याउने लक्ष्य रहेको छ।
कार्यालय प्रमुख ज्ञवालीले एक लाख टिमुरका विरुवा रोप्ने दाङ पहिलो जिल्ला हुनेसमेत बताए। किसानले खाल्डा खनेपछि बारीमै विरुवा पु-याउने गरेको जानकारी दिँदै उनले एकै जना किसानले ४० रोपनीसम्ममा टिमुर लगाउन लागेको बताए।
कार्यालय प्रमुख ज्ञवालीका अनुसार जिल्ला पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नम्बर १९, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ र १९ को पहाडी क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूह तथा निजी किसानलाई वितरण गरी वृक्षारोपण गरिँदैछ भने कतिपय राष्ट्रिय वनमा पनि वृक्षारोपण गरिने भएको छ।
करिब ५० हजार बिरुवा आफ्नै नर्सरीमा तयार रहेको र थप ५० हजार बिरुवा खरिद गरेर टिमुर खेती गर्न चाहने निजी वन धनीलाई वितरण गर्ने योजना अनुसारले काम भइरहेको डिभिजन वन कार्यालय दाङका ज्ञवालीले जानकारी दिए।
जिल्लामा अहिले पनि वर्षेनी दुई करोड बढीको टिमुर उत्पादन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ। यो वर्ष लगाइएका एक लाख विरुवाले तीन वर्षपछि फल्न सुरु गर्ने र टिमुर पन्ध्र वर्षसम्म टिक्न सकिने प्रमुख ज्ञवालीले बताएका छन्।
काष्ठ प्रजातिका बिरुवा लग्नेलाई २० प्रतिशत फलफूलका बिरुवा
बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातीका बिरुवाहरू लैजाँदा प्रोत्साहन स्वरुप २० प्रतिशत फलफुलका बिरुवासमेत वितरण गरिने डिभिजन वन कार्यालयले जनाएको छ।
पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा अन्य बिरुवासँगै रोपे उपभोक्ताहरूले छिटै उत्पादन लिन सक्ने भएकाले यसवर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय प्रमुख ज्ञवालीले बताए।
गएको वर्ष ४० हेक्टर बगर क्षेत्रमा तारबारसहित वृक्षरोपण गरेको वन कार्यालयले यसवर्ष ५० हजार क्षेत्रफलमा वृक्षारोपन गर्दैछ। फलफूल बिरुवाहरूमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमासे कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ड्रयागनफ्रुटलगायतका ५३ हजार बिरुवा खरिद वितरण गर्ने जनाएको छ।