मास्क प्रयोग नगर्ने १७९ जनामाथि कारबाही

मास्क प्रयोग नगर्ने १७९ जनामाथि कारबाही

कोरोना संक्रमण फैलिइरहँदा मास्क प्रयोग नगर्नेहरूमाथि प्रहरीले कारबाही अभियान सुरु गरेको छ। ‘लकडाउन’ खुकुलो भएसँगै मास्क प्रयोग गर्नेहरूको संख्यामा समेत कमी आउन थालेपछि प्रहरीले यस्तो अभियान सुरु गरेको हो।

प्रहरीले सोमबार जनकपुरमा मास्क प्रयोग नगर्ने झण्डै दुई सयजनालाई कारबाही गरेको छ। जनकपुरमा मास्क प्रयोग नगर्ने झण्डै दुई सयजनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

कार्कीले कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न नेपाल सरकारका साथै जिल्ला प्रशासन कार्यालयबाट समेत भएको निर्देशन अटेर गरेर मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको बताएका छन्।

मास्क प्रयोग नगरी सडकमा हिँडडुल गर्ने सवारी साधनका चालक, पैदल यात्री, साइकल चालकलगायतका व्यक्तिहरूलाई कारबाही गरिएको उनले बताए।

मास्क प्रयोग नगर्नेहरूलाई नियन्त्रणमा लिइ संक्रामक रोग ऐन, २०२० अनुसार प्रतिव्यक्तिलाई सय रुपैयाँ जरिवाना गरिएको डीएसपी कार्कीले बताए।

यता, बारामा पनि मास्क प्रयोग नगर्नेहरूलाई प्रहरीले कारबाही गरेको छ। मास्क प्रयोग गर्न सचेतना अभियान सञ्चालन गरिएतापनि अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई सय रुपैयाँ जरिवानापश्चात छोडिएको बताइएको छ।

बारामा पनि १०२ जना पक्राउ

यस्तै बारामा पनि माक्स नलगाई हिँडडुल गर्ने १०२ जना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार बिनामास्क व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चालक, पैदलयात्रीसहितलाई पक्राउ गरिएको हो। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि परिचालित प्रहरीले बिनामास्कका व्यक्तिलाई पक्राउ गरेको हो। 

संक्रमणबाट बच्न र बचाउन तथा प्रकोप नियन्त्रण-न्यूनीकरण गर्न प्रचार-प्रसार तथा जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि अटेर गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

पक्राउ परेकालाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति सय रुपैयाँ जरिवानापछि रिहा गरिएको छ।


Leave a Reply

Your email address will not be published.