प्रदेश २ ले आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने

प्रदेश २ ले आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने

प्रदेश २ सरकारले आफ्नै अनुसन्धान ब्युरो गठन गर्ने भएको छ।

प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्न साथै आवश्यक सूचना संकलन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले अनुसन्धान ब्युरो स्थापना गर्न लागेको हो।

प्रदेश सरकारले ब्युरो स्थापना गर्न प्रदेशसभामा विधेयक पेश गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभामा पेश गरेको विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ।

नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षा सुरक्षामा प्रतिकूल पार्नसक्ने प्रकृतिका सूचना वा जानकारीप्राप्त भएमा ब्युरोले संघीय सरकारलाई जानकारी गराउने विधेयकमा भनिएको छ।

यसका साथै प्रदेश मन्त्रिपरिषद्ले कुनै खास विषयमा अनुसन्धान गर्न आदेश दिएमा ब्युरोले अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने विधेयकमा भनिएको छ।

आन्तरिक मामिला मन्त्री यादवले प्रदेशभित्र शान्ति सुरक्षा कायम तथा अपराधिक गतिविधि नियन्त्रण गर्न ब्युरोले मद्दत गर्ने दाबी गरे। ‘ब्युरो गठन भइसकेपछि अपराध नियन्त्रण तथा पूर्वसूचना संकलनमा सहयोग हुनेछ,’ मन्त्री यादव भन्छन्,‘घटना घटनै नदिन घटे पनि यसले तीब्र अनुसन्धान गर्नेछ।’

प्रदेश सरकारले ल्याएको अनुसन्धान ब्युरो सम्बन्धी व्यवस्थालाई प्रतिपक्षी दलहरूले पनि प्रशंसा गरेका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले आपराधिक घटनाका साथै गोप्य सूचना संकलनमा प्रदेश ब्यूरोले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। प्रदेशभित्र अपराधिक गतिविधि बढिरहेकोबेला प्रदेश अनुसन्धान ब्युरो गठनपश्चात् त्यस्ता घटनाहरु नियन्त्रणमा सहयोग पुग्ने उनले बताए।

यसैगरी जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य परमेश्वर साहले पनि उद्योग तथा व्यापार सञ्चालनका लागि शान्ति सुरक्षा आवश्यक रहेकोले प्रदेश ब्यूरोले ठूलो भूमिका खेल्न सक्ने बताए।


Leave a Reply

Your email address will not be published.