पाँचदिनमै उपत्यकामा १३३ संक्रमित, कोभिड अस्पतालका बेड भरिए

पाँचदिनमै उपत्यकामा १३३ संक्रमित, कोभिड अस्पतालका बेड भरिए

उपत्यकामा कोरोना संक्रमितको संख्यामा बढेसँगै कोभिड–१९ का लागि भनेर छुट्याइएका अस्पताल बिरामीले भरिभराउ भएका छन् । 

उपत्यकामा पछिल्ला ५ दिनमा मात्रै १ सय ३३ जना संक्रमित थपिएका छन् । त्यसमध्ये आइतबार र सोमबारमात्रै ८४ संक्रमित थपिएका हुन् । तीमध्ये सोमबार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना छन् । 

कोभिड–१९ को पहिलो चरणका संक्रमितलाई राख्न भनेर छुट्याइएको टेकुको शुक्रराज सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, पाटन अस्पताल र काठमाडौं मेडिकल कलेजमा कोभिड–१९ का बिरामी भर्ना गरिएका छन्। 

पाटन अस्पतालमा ४५ बेडको कोभिड वार्ड, १५ बेडको आइसोलेसन र २१ वटा आइसियुमध्ये अधिकांश भरिएको छ। अस्पतालमा ५० बिरामीको उपचार भइरहेको छ। 

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार अहिले पनि बिरामी डिस्चार्ज हुने र आउने क्रम जारी रहेकाले रिक्त बेड संख्या यकिन भन्न गाह्रो छ। ‘५ जनालाई आइसियू बेडमा राखिएको छ,’ उनले भने। 

कोरोना संक्रमणका लागि ३५ बेड छुट्याएको टेकु अस्पतालमा ३५ जना नै संक्रमितको उपचार भइरहेको छ। सशस्त्र प्रहरीको १२० बेडको अस्पतालमा ७० जना संक्रमित र २० जना शंकास्पद र रिपोर्टको प्रतीक्षामा रहेकाहरू आइसोलेसनमा भर्ना भएका छन्। तीबाहेक दुवाकोटस्थित केएमसी अस्पतालमा २० जना भर्ना भएको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. माधव लम्सालले अहिलेसम्म आएका बिरामीको व्यवस्थापन गरिए पनि थप के गर्ने भन्ने तयारी हुँदै गरेकाे बताए । ‘नेपालमा अहिलेसम्म अस्पताल चाहिने कोभिड–१९ का बिरामीले पाएनन् भन्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘अहिले भएका अस्पताल भरिँदै गएकाले अब अन्य अस्पताल पनि तयार पार्नुपर्ने अवस्था छ।’

मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा २ सय ३९ संक्रमितमध्ये काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ छन् । 
काठमाडौंमा पहिलोपल्ट माघ १० र दोस्रो चैत ४ मा संक्रमण पुष्टि भएको थियो। तर, बीचमा भारतबाट आउनेका कारण उपत्यकाबाहिर संक्रमणको चाप बढेपछि बाहिरी जिल्लाबाट उपत्यकामा भित्रिनेको संख्या थपिएको थियो।

यो सँगै उपत्यकामा समुदायमै संक्रमण फैलिएको आशंकामा समेत थप अनुसन्धान भइरहेको छ। 

पछिल्ला दिनमा बढेको संक्रमितको संख्याले विज्ञहरूले अबको हटस्पट उपत्यका बन्नसक्ने चेतावनी दिइरहेका छन्। 


Leave a Reply

Your email address will not be published.