नेपाल प्रहरीका सई घुससहित पक्राउ
सर्लाहीबाट नेपाल प्रहरीका एकजना सई घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सई राम विश्वासराय यादवलाई पाँच हजार घुससहित पक्राउ गरेको हो।
सर्लाहीको इश्वरपुर नगरपालिकाको गौरीशंकर प्रहरी चौकीमा कार्यरत यादवलाई पाँच हजार घुससहित कार्यालयबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको भारतीय प्लेट नम्बरको मोटरसाइकल छुटाइदिने प्रयोजनको लागि घुस मागेको सूचनाको आधारमा त्यहाँ पुगेको आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।