लागूऔषध बिक्री गर्ने औषधी व्यवसायी पक्राउ

लागूऔषध बिक्री गर्ने औषधी व्यवसायी पक्राउ

प्रहरीले लागूऔषध बिक्री गर्ने एकजना औषधी व्यवसायीलाई जनकपुरबाट पक्राउ गरेको छ। 

प्रादेशिक अस्पतालअगाडि ओम जानकी औषधी पसल सञ्चालन गर्ने अशोक मण्डललाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरीको अपराध नियन्त्रण शाखाको टोलीले ‘स्टिङ अपरेशन’ गरेर मण्डललाई पक्राउ गरेको जनाइएको छ। 

मण्डललाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

मण्डलले लागूऔषध बेचबिखन गरिरहेको सूचना प्रहरीले पाएको थियो। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण शाखाका एकजना प्रहरी ग्राहक बनेर लागूऔषध खरिद गर्न त्यहाँ पुगेको थियो। ग्राहक बनेर पुगेका प्रहरीले भनेअनुसार लागूऔषध दिएपछि मण्डललाई पक्राउ गरिएको डीएसपी कार्कीले बताए।

‘हामीले क्राइम ब्रान्चका एकजना प्रहरीलाई ग्राहक बनाएर त्यहाँ पठाएका थियौं,’ डीएसपी कार्कीले भने,‘डाक्टरको प्रेस्किप्सनबिना उसले प्रतिबन्धित औषधी बिक्री गरेपछि पक्राउ गरेका हौं।’

खानतलासीको क्रममा पसलबाट प्रतिबन्धित डाइजिपाम फेला परेको डिएसपी कार्कीले बताए। पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाएका छन्।


Leave a Reply

Your email address will not be published.