घरघरमा पिसिआर टेस्ट माग गर्दै संकल्प प्रस्ताव दर्ता

घरघरमा पिसिआर टेस्ट माग गर्दै संकल्प प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएको छ। कोरोना नियन्त्रण र रोकथामका लागि सरकारी पहल नपुगेको भन्दै कांग्रेसले मंगलबार संकल्प प्रस्ताव दर्ता गराएको हो। 

गण्डकी प्रदेशमा एक घर एक पिसिआर टेस्टको व्यवस्था हुने गरी प्रक्रिया प्रारम्भ गर्न प्रदेश सरकारलाई निर्देशन गर्न माग गर्दै कांग्रेसका ३ सांसदले उक्त प्रस्ताव दर्ता गराएका हुन्। सांसदहरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले उक्त प्रस्तावमा हस्ताक्षर गरेका छन्। 

कोरोना नियन्त्रण र रोकथामका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुुनवाई नभएका कारण संकल्प प्रस्ताव दर्ता गर्नुपरेको सांसद खड्काले बताए। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार क्वारेन्टिन व्यवस्था मिलाउन प्रस्तावमा माग गरिएको छ।  

प्रदेशभर ५४ वटा भेन्टिलेटर र १ सय ३३ आइसियु बेड उपलब्ध भएको र ५१ वटा थप्ने प्रक्रियामा रहे पनि पर्याप्त नहुने प्रस्तावमा उल्लेख छ। आगामी दिनमा समुदायमा कोरोना फैलिँदा उक्त साधनले समस्या सम्बोधन हुने नभएकाले सरकारलाई गम्भीर हुन प्रस्तावमार्फत आग्रह गरिएको छ। 

मानिसहरु घरबाट बाहिर निस्कने, हिँडडुल गर्ने, सुरक्षा उपाय अपनाएर वा नपनाई समूहमा उपस्थित हुने, भिडभाड जम्मा हुने -याली र सभा गर्ने जस्ता गतिविधि अगाडि बढिरहेकाले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने खतरालाई मध्यनजर गर्न सांसदहरुको जोड छ। कोरोनासँग जुध्न, महामारीबाट प्रदेशका जनतालाई सुरक्षित गर्न, संक्रमित भएकाहरुलाई उपलब्ध उपचार प्रदान गर्न, व्यवस्थित हेरचाह गर्न सरकारलाई उनीहरुले आग्रह गरेका छन्। 


Leave a Reply

Your email address will not be published.