नियम मिच्ने पाइलट श्रेष्ठलाई प्राधिकरणले जहाज उडाउन रोक्यो  

नियम मिच्ने पाइलट श्रेष्ठलाई प्राधिकरणले जहाज उडाउन रोक्यो  

नियम उल्लंघन गर्दै अन्तर्राष्ट्रिय उडानमा खटाएको भेटिएपछि नियामक निकाय नागरिक उड्‌डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका एक पाइलटलाई उडान गर्न रोकेको छ।

मुलुकको उड्‌डयन नियामक प्राधिकरणले मंगलबार निगमका पाइलट सुनिल श्रेष्ठलाई उडान गर्न रोकेको हो। पाइलट श्रेष्ठ मंगलबार राति २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइडबडी जहाज लिएर काठमाडौंबाट अफ्रिकी मुलुक सुडान जाने तयारीमा थिए।

‘निगम व्यवस्थापनले पाइलट श्रेष्ठलाई उड्‌डयन नियम उल्लंघन गर्दै उडानमा पठाउन लागेको उजुरी परेपछि हामीले उनलाई उडान गर्नबाट रोकेका छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले मंगलबार आयोमेलसँग भने, ‘उड्‍डयनजस्तो अतिसंवेदनशील विषयमा पनि खेलवाड गर्न खोजिएपछि हामीले रोकेका हौं।’

निगम व्यवस्थापनका एक अधिकारीका अनुसार सुडानका लागि उडान गर्ने तयारीमा रहेका श्रेष्ठ वाइडबडी जहाजका कोपाइलट हुन्। निगमले संयुक्त राष्ट्र संघका लागि काठमाडौंबाट कतारको दोहा हुँदै सुडानसम्मको दुईतर्फी चार्टर उडान गर्ने चालकदलमा श्रेष्ठलाई पनि राखेको थियो। 

बुधबार बिहान १ बजे उडान गर्ने तालिका बनाइए पनि निगमले सुरुमा हिजो सोमबार उक्त चार्टर उडान मंगलबार राति  साढे १० बजे गर्ने तालिका बनाएको थियो। तर, एकैजना पाइलटलाई लगातार लामो दुरीमा दुई उडान गर्न दिन रोस्टर बनाइएपछि प्राधिकरणमा श्रेष्ठविरुद्ध उजुरी परेको थियो।

निगमकै उड्‌डयन नियमअनुसार कुनै पनि पाइलटले एउटा उडान गरेर फर्केपछि २४ घन्टा आराम नगरी अर्को उडान गर्न पाउँदैन। त्यस्तै लामो दुरीको उडानमा जानका लागि वाइडबडी (ए३३०) जहाज न्यूनतम ५ सय घन्टा उडाएकै हुनुपर्छ।

‘तर, कोपाइलट श्रेष्ठ साउदी अरबको रियाधबाट मंगलबार बिहान साढे ९ बजे जहाज उडाएर काठमाडौं अवतरण गरेका थिए,’ सम्बद्ध एक अधिकारीले भने, ‘त्यसमाथि ए३३० मा उनी ५ सय घन्टा उडेका पनि छैनन्। यस्तो कैफियत हुँदाहुँदै उनैलाई लामो दुरीको उडानमा पठाउन खोज्नु व्यवस्थापनको गलत कदम हो।’

ती अधिकारीका अनुसार काठमाडौंबाट दोहा हुँदै सुडान गएर पुनः काठमाडौं फर्किंदासम्म ३४ घन्टा लाग्छ। त्यसमध्ये २८ घन्टा उडान अवधि हुन्छ भने बाँकी ६ घन्टा ‘ग्राउन्ड टाइम’ हुन्छ।

निगमले गर्न लागेको चार्टर उडानमा क्याप्टेनहरू महेश्वरमान (एमएम) डंगोल, उदय कोल्हात्कर र प्रियपाल सिंह तथा कोपाइलटहरू रमन घिमिरे, भाेगेन्द्र कठायत र श्रेष्ठको नाम रोस्टरमा थियो। 

तर, उड्‌डयन प्राधिकरणमा उजुरी परेपछि निगम व्यवस्थापनले कोपाइलट श्रेष्ठलाई उक्त उडानबाट हटाएको हो। 

निगम व्यवस्थापनले यसअघि पनि कोपाइलट श्रेष्ठलाई लामो दुरी (लङ हल) का उडानमा समावेश गराउँदै आएको छ। 

निगमका एक पाइलटका अनुसार व्यवस्थापनले यसअघि श्रेष्ठलाई काठमाडौंबाट अस्ट्रेलियाको सिड्नीसम्मको दुईतर्फी उडानमा सहभागी गराएको थियो। त्यसबेला पनि उड्‌डयन नियम उल्लंघन गरिएको थियो। 

‘लकडाउनका बेला कोपाइलट श्रेष्ठ वाइडबडी जहाज सबैभन्दा धेरैपटक उडाउनेमध्येमा पर्छन्,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती पाइलटले भने, ‘कसैलाई १२ दिनमा दुइटा उडान भागमा पर्दैन तर श्रेष्ठलाई भने नौवटासम्म उडान गर्न दिइएको छ।’

निगम व्यवस्थापनले उड्‌डयन नियम उल्लंघन गर्दा यात्रु तथा जहाजको सुरक्षा जोखिममा परिरहेको ती पाइलटको भनाइ छ। ‘केही घन्टा पनि आराम नगरी तुरुन्तै लामो दुरीको उडान गर्न जानु भनेको असाध्यै जोखिमपूर्ण काम हो,’ उनले भने, ‘यसमा पाइलट आफैंले पनि विचार गर्नुपर्छ।’

उनका अनुसार ए३३० वाइडबडी जहाज उडाउन पाइलट अभाव पनि छैन। पाइलट नभएर श्रेष्ठलाई पठाउनुपर्ने अवस्था पनि छैन। ‘नत्र उनलाई मात्र जहाज उडाउन दिइनुको उद्देश्य निगम व्यवस्थापनले प्रष्ट पार्नुपर्छ,’ ती पाइलटले भने। 

हाल निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न दुईथान ए३३० वाइडबडी र १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान न्यारोबडी जहाज छन्।
 


Leave a Reply

Your email address will not be published.