डब्लुएचओबाट औपचारिक रूपमै बाहिरिँदै अमेरिका

डब्लुएचओबाट औपचारिक रूपमै बाहिरिँदै अमेरिका

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने निर्णय गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डब्लुएचओबाट औपचारिक रूपमै बाहिरिने प्रक्रिया अघि बढाएका हुन्।

ट्रम्प कोरोना भाइरसको महामारीको सन्दर्भमा डब्लुएचओले प्रभावकारी कदम चाल्न नसकेको र चीनको पक्षमा वकालत गरेको भन्दै आलोचना गर्दै आएका थिए। उनले केही महिनाअघि डब्लुएचओबाट बाहिरिने घोषणा गरेका थिए।

यसका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघ, अमेरिकी संसद कंग्रेसलाई समेत सूचित गरिसकेको छ।

अमेरिकी सांसद तथा विदेश मामिला समितिका सदस्य रोर्बट मेनेडिजले राष्ट्रपतिको भनाइ पुष्टि गर्दै अमेरिकाले औपचारिक रूपमा डब्लुएचओबाट बाहिरिने घोषणा गरेको र यसका लागि संसद्लाई सूचना दिइएको ट्वीटरमार्फत् जानकारी दिएका छन्।

अमेरिका डब्लुएचओलाई सबैभन्दा बढी अनुदान दिने मुलुक हो। अमेरिकाले डब्लुएचओको कुल बजेटको १५ प्रतिशत अनुदान दिने गरेकोमा पछिल्लो पटक ट्रम्पले कटौती गरिदिएका थिए। अमेरिकाले डब्लुएचओलाई सन् २०१९ मा ४० करोड डलर अनुदान उपलब्ध गराएको थियो। 

अमेरिकाले डब्लुएचओको अनुदान कटौती गर्नुका साथै बाहिरिने निर्णय गरे पनि चीनले अनुदान बढाएको छ।


Leave a Reply

Your email address will not be published.