रबर चोर्दा आमाको कुटाइ खाएका थिए अमिताभले

रबर चोर्दा आमाको कुटाइ खाएका थिए अमिताभले

बलिउड महानायक अमिताभ बच्चनको अभिनयको तारिफ नगर्ने सायदै होलान्। बेलाबेला उनको घरायसी संस्कारको बारेमा पनि चर्चा हुन्छ। अमिताभका बुबा हरिवंश राय बच्चन र आमा तेजी बच्चन निकै संस्कारी थिए।

अभिताभले पनि सानैबाट राम्रो संस्कार पाएका थिए। उनी ‘बदमास’ बच्चाको सूचीमा नभए पनि कम चकचके भने थिएनन्। बेलाबेला उनी ‘बदमासी’ गरिरहेकै हुन्थे। तर, उनी बुबासँग भने निकै डराउँथे।

उनका बुबा निकै अनुशासनमा बस्न रुचाउँथे। उनलाई घरमा हल्लाखल्ला भएको कत्ति पनि मन पर्थेन। बुवा घरमा हुँदा जहिले पनि अमिताभ र उनका भाइ अजिताभ पढाइमै ध्यान दिन्थे।

अमिताभका दाजुभाइ आमासँग भने निकै नजिक थिए। उनीहरूले बदमासी गरे भने उनकी आमा निकै हप्काउँथिन् तर, उनी अर्को पटक गल्ती नगर्ने गरी राम्रोसँग सम्झाउँथिन् पनि। आमा चाहन्थिन्, बच्चाहरूले फेरि-फेरि गल्ती नगरून्।

थुप्रै पटक आमाले नै अमिताभलाई बुवाको हातको पिटाइ खानबाट बचाएकी थिइन्। त्यसैले अमिताभ पनि आमालाई निकै माया गर्थे। 

शिला झुन्झुनवालाले आफ्नो किताबमा अमिताभले आमाको हातबाट निकै पिटाइ खाएको कथा लेखेका छन्। ‘अमिताभकी आमाले उनलाई शरीर सुन्निने गरी पिटेकी थिइन्। अमिताभले एउटा पसलबाट रबर चोरी गरेका थिए। उनले अन्जानमै चोरी गरेको भए पनि आमाको हातबाट रामधुलाई भेटे,’ झन्झुनवालाको किताब छ।

उनले हातमा रहेको बेतको लौरो नभाचिन्जेल अमिताभलाई कुटिरहिन्। पहिलो लौरो भाँचिएपछि उनले अर्को लौरो उठाइन् र फेरि पिट्न थालिन्। अमिताभ पीडाले निकै छटपटाइरहँदा पनि आमाको रिसको पारो कम भएन।

उनकी आमाको धारणा थियो, गल्ती गरेपछि पीडा सहने हिम्मत पनि हुनुपर्छ। पीडाबाट गल्ती सम्झाउँदै अर्को पटक गल्ती गर्न डराउन् भन्ने उनको मान्यता थियो। आमाको पिटाइले अमिताभको शरीर सुन्निएको र रुँदारुँदा आँखा राता भएका थिए। 

उनी स्कुल जान चाहन्नथे। तर, अमिताभकी आमाले उनलाई स्कुल पठाइ छाडिन्। उनले अमिताभको गल्ती स्कुलका सबैले थाहा पाउन् र अर्को पटक चोरी गर्ने हिम्मत नगरोस् भनेर यस्तो सजाए दिएको उक्त किताबमा उल्लेख छ। -एजेन्सीको सहयोगमा


Leave a Reply

Your email address will not be published.