कोरोना संकटमा कृष्णको पसिनाको कमाइ        

कोरोना संकटमा कृष्णको पसिनाको कमाइ        

कोरोना भाइरसका कारण अहिले व्यापारव्यवसाय थला परेको छ। हिजो दैनिक लाखौं रुपैयाँ कमाउने व्यापारी अहिले फुर्सदिलाजस्तै छन्।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनसँगै लगाइएका कतिपय पसलका ढोका र सटर अहिले पनि खुलेका छैनन्। 

तर, कति व्यापारीले संकटमै नयाँ उपाय अपनाएका छन्। तीमध्येका एक हुन् झापा हल्दीबारी २ पाराखोपीका व्यापारी कृष्ण बस्नेत। उनी अहिले पनि दैनिक २० हजारभन्दा बढीको व्यापार गर्छन्।

स्थानीय धनुषाचोकमा भेटिएका कृष्णले भने, ‘पसल खोलेर बस्दा कुनै टुङ्गो हुँदैन थियो,अहिले सरदर २० हजार बढी नै बिक्री भैरहेको छ।’ लकडाउनमा राम्रै व्यापार भैरहेको उनले सुनाए। 

विशेष गरेर भान्सामा प्रयोग हुने सरसामानको व्यापार गर्ने कृष्ण (छोटाहात्ती)  केरियरमा सामान लोड गर्छन् र बेच्न निस्कन्छन्। हरेक दिन बिहान ११ बजे घरबाट निस्कने उनी दिउँसो ४/५ बजे मात्र फर्कन्छन्। उनको केरियर पसलमा चम्चीदेखि ग्यास चुल्होसम्म पाइन्छ। सामान बेच्न छोरी निर्जलाले साथ दिन्छन्। 

भद्रपुरको प्रज्ञा एकेडेमी कक्षा ९ मा अध्ययनरत निर्जलाले भनिन्, ‘बाबाले गाडी आफैं हाक्नु हुन्छ, म समान लोड गर्न, झिक्न सघाउँछु ।’ अहिले उनको स्कूल विदा छ।

कृष्णले हरेक दिन १० देखि १५ किलोमिटर केरियर कुदाउँछन्। पाराखोपी-काजली, यलम्बरचोक-शम्भुचोक, धनुषाचोक घुमेर पाराखोपी फर्कनु उनको दिनचर्या नै हो। घरको व्यापारमा श्रीमती र छोराले पनि सघाउछन्। 

घरमा १/२  हजारदेखि १० हजारसम्मको बिक्री हुने गरेको सुनाएका कृष्णले यही व्यापारबाट ६ जनाको परिवार पालेका छन्। छोराछोरी पढाउन, घर खर्च गर्न यसरी व्यापार गर्नुको विकल्प नभएको उनले सुनाए।

कृष्णले यो व्यापार सुरु गरेको एक दशक बित्यो। त्यसभन्दा अघि उनी पत्रपत्रिका, देवीदेउताका तस्वीर, पूजाको सामग्री, कलाकारका पोष्टर  लगायतको व्यापार गर्थे। ‘क, ख, ए,बी, सी डी, अ,आ, इ, ई  लेखिएका सामग्री पनि बेचेँ,’ विगत सम्झदै उनले भने।

‘मैले २०५० मा एसएलसी पास गरेँ। धेरै पढ्न सकिएन,’ उनले भने, ‘सानैदेखि व्यापारमा लागियो, अरु केही गर्ने सोच नै जागेन।’ परिवार पालेर केही बचत समेत  गरेको सुनाएका उनले स्वदेशमै परिश्रम गरे महिनामा ४०/ ५० हजार कमाउन विदेश जानु नपर्ने बताए। ‘कर्म गरे गाउँमै बसेर पनि कमाइ गर्न सकिँदो रहेछ,’ उनले भने।     


Leave a Reply

Your email address will not be published.