वैज्ञानिक भन्छन्– काेराेना भाइरसको स्रोत कहिल्यै पत्ता नलाग्न पनि सक्छ !
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ को उत्पत्तिको स्रोत पत्ता लगाउने लक्ष्यसाथ वैज्ञानिकहरूको एउटा समूहलाई चीनमा पठाउन तयारी गरिरहेको छ।
तर भाइरसको स्वभावलाई लामो समयदेखि गहन रूपमा अध्ययन गरिरहेका एक वैज्ञानिकले भने यस खोज कयाैं वर्षसम्म लम्बिन सक्ने वा त्यसबाट कुनै ठोस निष्कर्ष हात पर्न नसक्ने दाबी गरेका छन्।
डब्लुएचओका विज्ञहरूको समूहले अन्तर्राष्ट्रिय ‘मिसन’को मापदण्ड तय गर्न यसै साता चिनियाँ अधिकारीहरूलाई भेट्न लागेको बताइएको छ। तर चीनमा सबैभन्दा पहिला कोरोना भाइरस देखिएको ६ महिना बितिसकेकाले कोभिड–१९ संक्रमणको मार्ग पहिचान नै खोजको सबैभन्दा ठूलो चुनौती हुने जनाइएको छ।
हालसम्म यस ‘पेथोजिन’ (मानव शरीरमा प्रवेश गरी रोगको रूप लिने भाइरस, ब्याक्टेरिया र अन्य सूक्ष्म जीवात्मा) मानिसमा कहिले, कहाँ र कसरी सञ्चारित भयो भन्ने विषय रहस्यकै गर्भभित्र सीमित छ।
हालसम्म यस सवालमा बनेको सबैभन्दा ठूलो मतैक्य भनेको कोभिड-१९ रोग लगाउने भाइरसको स्रोत चमेरो हो। विज्ञहरूका अनुसार उक्त पेथोजिन पहिला अन्य जीवमा प्रवेश गरेको हो।
त्यसक्रममा उसको आनुवंशिक आकारमा परिवर्तन आएपछि मात्र यसले मानव शरीरमा प्रवेश गरेको हो। जब यसले मानव कोषमा प्रवेश पायो यातायातको विभिन्न माध्यमद्वारा यात्रा गर्दा खोकी वा श्वासमार्फत यो भाइरस संसारभर सञ्चारित भएको हो।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक डा. डेभिड हेम्यानका अनुसार यो भाइरसको मानव शरीर प्रवेशको यथार्थ मार्ग ठ्याक्कै खुट्याउन गाह्रो परेता पनि विज्ञहरूको यस खोजले एक बलियो परिकल्पना वा सिद्धान्तको स्थापना गर्न सघाउने छ।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक डा. डेभिड हेम्यानका अनुसार यो भाइरसको मानव शरीर प्रवेशको यथार्थ मार्ग ठ्याक्कै खुट्याउन गाह्रो परेता पनि विज्ञहरूको यस खोजले एक बलियो परिकल्पना वा सिद्धान्तको स्थापना गर्न सघाउने छ।
‘यस्तो परिकल्पनाले भविष्यमा गरिने अनुसन्धानका क्रममा के विषय वा कुन पक्षलाई नजिकैबाट हेर्न खोजिएको हो भनेर निर्धारण गर्न भने पक्कै सघाउने छ,’ डब्लुएचओको साइन्टिफिक, टेक्निकल एडभाइजरी ग्रुप फर इन्फेक्सस हाजार्डसका प्रमुखसमेत रहेका हेम्यान भन्छन्।
पेथोजिनको पदछाप पछ्याउनका लागि सबैभन्दा स्पष्ट र सीधा तरिका भनेको सुरु–सुरुमा संक्रमितको शरीरमा प्रवेश गरेको कोरोना भाइरसको स्वभावसँग संक्रमित जनावरको शरीरमा भएको भाइरसको स्वभावबीच समानता पहिचान थियो। तर अब यत्तिका समय बितिसकेको परिस्थितिमा यो विधि असम्भव मानिन्छ।
‘मानव शरीरमा प्रवेश गरेसँगै सो भाइरसको वास्तविक स्रोत जीवबाट बाहिरिसकेको पनि हुनसक्छ। जसका कारण अहिले कोभिड–१९ एक व्यक्तिबाट अर्कोमा निकै द्रुत रूपमा फैलिरहेको छ,’ दक्षिण अफ्रिकास्थित युनिभर्सिटी अफ प्रिटोरियाअन्तर्गत सेन्टर फर भाइरल जोनोसिसकी निर्देशक वान्डा मार्कोटर भन्छिन्।
आफ्नै एक अनुसन्धानका लागि चमेरोको निगरानी गरिरहेकी उनले उक्त स्तनधारी प्राणीमा पनि कुनै निश्चित मौसममा मात्र भाइरसले प्रवेश गर्नसक्ने सम्भावनातर्फ इशारा गर्दै हाल सञ्चालन गर्न लागिएको खोजका क्रममा चमेरोमा कोरोना भाइरस नभेटिन पनि सक्ने धारणा राखिन्।
प्रारम्भिक सिद्धान्तले सुरुका संक्रमितहरूको काम गर्ने वा सामग्री खरिद गर्ने थलो, उहानस्थित समुद्री जीवको बिक्री केन्द्रबाट कोभिड–१९ मानिसमा संक्रमित भएको उजागर गरेको थियो। तर सो केन्द्रमा बिक्री तथा प्रदर्शनीका लागि राखिएको जीवहरूको परीक्षण गर्दा कोरोना भाइरस नभेटिएको भन्दै चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अधिकारीहरूले उक्त सिद्धान्तको वैधतामाथि प्रश्न गरेका थिए।
सोही परीक्षणको नतिजामाथि पहुँच हासिल गर्नु नै डब्लुएचओका विज्ञहरूको कामको हिस्सा हुने मार्कोटर बताउँछिन्। ‘सो तथ्यांक आममानिससमक्ष आउन जरुरी छ ताकि सबैले उक्त तथ्यांकको अर्थ के हो भनेर जान्न सकुन्,’ उनी भन्छिन्।
उता सिंगापुरको डुक एनयुएस मेडिकल स्कुलका गेभिन स्मिथले भाइरसको जीवस्रोत पहिचान गर्न विश्व महामारी देखिनुभन्दा ६ देखि १२ महिनासम्म अघि उहानको समुद्री जीव बजारमा राखिएका जनावरको नमुनाको परीक्षण गरिनुपर्ने आवश्यकता आंैल्याएका छन्।
यस सवालमा देखिएको अर्को चुनौती भनेको भाइरसको जीव स्रोतसँग सम्बन्ध स्थापित गराउन सक्ने संक्रमितको अभाव पनि हो। यस विषयमा पनि कुनै स्पष्टता देखिइएको छैन।
उहानको अस्पतालले पहिलो कोरोना भाइरस संक्रमितको पुष्टि गत वर्षको डिसेम्बर महिनामा गरेको थियो। तर पछि गरिएको आनुवंशिक विश्लेषणबाट भाइरसले मानिसको शरीरमा त्योभन्दा अगाडिको शरदयाममै प्रवेश गरिसकेको देखाएको छ।
युरोपमा गरिएको एक अध्ययनले चीनमा कोरोना भाइरस गत वर्षको नोभेम्बर महिना वा विश्वास गरिएभन्दा अघिदेखि नै उपस्थित रहेको देखाएको थियो।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले भाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धान अन्य विविध मुलुकमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
–अनुवादित सामग्री