होम क्वारेन्टाइनमा बसेका चारसहित पोखरामा १० संक्रमित थपिए
कास्कीका १३ जनामा कोरोना पोजेटिभ देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ। बुधबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका १० र मादी गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
पोखराका सात वटा वडाका नौ जनामा पोजेटिभ देखिएको पोखरा महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ। एक संक्रमित भने पोखराकै क्वारेन्टाइनमा बसेका अन्नपूर्ण गाउँपालिकाका पुरुष हुन्।
महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यका अनुसार संक्रमण पुष्टि हुनेमा साउदीबाट चार, कुवेतबाट दुई, भारतबाट दुई र युएईबाट एक जना छन्। कोरोना पोजेटिभ देखिनेमा पाँच जना महानगरको र चार जना होम क्वारेन्टाइनमा बसेकाहरु रहेको अधिकृत आचार्यले जानकारी दिए।
गण्डकी प्रदेशका संक्रमितमध्ये तीन सय ५३ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ।
कोरोना परीक्षणका लागि गण्डकीमा हालसम्म १८ हजार तीन सय ६० नमूना संकलन गरिएको छ। तीमध्ये १७ हजार ९७ जनाको नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले छ। विभिन्न जिल्लाका चार सय ३४ जनाको रिपोर्ट आउन बाँकी छ।