भोलिदेखि चार दिन उच्च वर्षा हुने, बाढी-पहिरोको पूर्वतयारीमा जुट्न गृहको अपिल

भोलिदेखि चार दिन उच्च वर्षा हुने, बाढी-पहिरोको पूर्वतयारीमा जुट्न गृहको अपिल

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा भोलिदेखि चार दिनसम्म यो वर्षकै उच्च वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ। 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विपद व्यवस्थापनमा उच्च सतर्क रहन अनुरोध गरेको हो। 

प्राधिकरणका अनुसार भारी वर्षाले बाढी, पहिरो र डुबानको सम्भावना उच्च रहेको छ। यसै पनि वर्षा जारी रहेकाले पहाडी भेगका भू-भाग गलिसकेका छन्, यस्ता ठाउँमा पहिरो जाने सम्भावना बढेर गएको छ। 

शुक्रबारदेखि आइतबारसम्म १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने नदीनालामा पानीको सतह बढेर बाढीको खतरा उच्च छ। ‘यी ठाउँका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गरिन्छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने। 

झापा, मोरङ, सुनसरी, सप्तरी धनुषा, सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका होचा ठाउँमा डुबानको सम्भाना बढी छ। 

कनकाई, कोसी, कमला, बागमती, नारायणी तथा त्यसका सहायक नदीमा बाढी बढेर खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। 

यसलाई मध्यनजर गरी विपदमा खटिन संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, विकास साझेदार, सरकारी-गैरसरकारी संस्था, निजी क्षेत्रलगायत सबैलाई प्राधिकरणले अनुरोध गरेको छ। 

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published.