भोटेकोशीमा चार जना वेपत्ता, बाह्रबिसेमा दुई जनाको शव भेटियो
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।
बुधबार राति भोटेकोशी- ५ स्थित बल्कुते खोलामा बाढी आउँदा दुई घर बगाएको छ। एउटै घरका चार जना सदस्य वेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
अर्काे घर पनि बगाएको छ। र, त्यो घरका दुई बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
त्यस्तै, बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पनि पहिरो गएको छ। बाह्रबिसे-५ जम्बुमा दुई जनाको शव भेटिएको छ। मेयर निमफुन्जो शेर्पाका अनुसार खाकडोल नजिकै रहेका एउटा गाउँका २२ घरमध्ये दुई/चार वटामात्रै घर देखिन्छन्।
‘त्यहाँ पुल पनि भत्किएको छ, अरनिको राजमार्ग पूरै क्षतिग्रस्त छ। हामी जाने प्रयास गरिरहेका छौं,’ शेर्पाले भने, ‘त्यहाँ भएका २२ घरमध्ये अहिले २/४ वटामात्रै देखिन्छन्। ठूलै क्षति भएको हुनसक्छ।’