झापामा थपिए ६ कोरोना संक्रमित
झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा मेचीनगर नगरपालिकाका ५ र बिर्तामोड नगरपालिकाका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए।
मेचीनगर नगरपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा मेचीनगर नगरपालिका १४ की ३५ वर्षीया महिला रहेकी छिन्।
उनी अतिथि सदन क्वारेन्टाइनमा बसेकी थिइन्। त्यस्तै मेचीनगर १ , ५, १० र १५ का एक/एक जना पुरुषमा संक्रमण देखिएको छ। उनीहरू कवि शिरोमणि मावि, आदर्श मावि , काँकडभिट्टा मावि क्वारेन्टाइनमा बसेका थिए।
संक्रमितहरू भारतबाट आएका व्यक्ति भएको मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु ( सुबेस) ले बताए। मेचीनगरमा संक्रमितको संख्या ४६ जना पुगेको छ।
बिर्तामोड नगरपालिका ३ का ४७ वर्षीय पुरुष रहेका छन्। उनी साउदीबाट फर्केको वडाध्यक्ष भोजराज सिटौलाले बताए। ति पुरुष कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका थिए। योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।
यसअघि बिर्तामोड ४ का दुई पुरुष, ७ एक महिला र एक पुरुष तथा ५ का एक पुरुषमा संक्रमण देखिएको थियो। झापामा कोरोना संक्रमितको संख्या २९७ पुगेको छ।