भक्तपुरमा यसपालि गुँलापर्व नहुने

भक्तपुरमा यसपालि गुँलापर्व नहुने

भक्तपुरमा एक महिना चल्ने गुँलापर्व स्थगित गरिएको छ। साउन ६ गतेदेखि हुने यस वर्षको गुँलापर्व स्थगित गरिएको हो। लकडाउन अवधिमा भक्तपुरमा महिनैपिच्छे हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा सीमित भएर मनाइँदै आएको थियो।

विश्वव्यापी रूपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले यसपालि गुँलापर्व स्थगित गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी गराए। गुँलापर्वमा धेरै भीडभाड हुने भएकाले संक्रमणको जोखिम बढ्नसक्ने र त्यसलाई न्यूनीकरण गर्ने ध्येयले गुँलाबाजा परिक्रमालाई यो वर्ष स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ। 

बिहीबार नगर प्रमुख प्रजापतिको अध्यक्षतामा विभिन्न गुँलाबाजा समूहका सरोकारवालासँग बैठक गरी उक्त निर्णय गरिएको हो।
बैठकमा प्रमुख प्रजापतिले भक्तपुरमा कोरोना जोखिम बढ्दै गइरहेको र समुदायस्तरमै संक्रमित देखिएको अवस्थामा धेरै भीड हुने खालका गतिविधि हुन नदिन आवश्यक पहलकदमी गरिएको बताए।

गुँलाबाजाका प्रतिनिधिहरू गुँलापर्वमा भक्तपुरवासी मात्र नभई बाहिरबाट पनि सहभागी हुने हुँदा यसले थप जोखिम बढाउने भएकाले गुँलापर्व नमनाउने विषयमा सकारात्मक रहेका थिए। सबैले लकडाउन पालना गर्ने पक्षमा रहेको बताए। 

बैठकमा विश्वकर्मा गुँला बाजं खलः, साकोलान गुँला धलं, कोनेया गुँला बाजंका प्रतिनिधिको सहभागिता थियो। 

 


Leave a Reply

Your email address will not be published.