नेपालमा भारतीय समाचार च्यानल बन्द
नेपालमा प्रशारण हुँदै आएका सबै भारतीय टेलिभीजन समाचार च्यानलहरु बन्द गरिएका छन्। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)का अनुसार बिहीबार साँझदेखि भारतीय समाचार च्यानलहरु बन्द गरिएका हुन्।
यद्यपि यो सरकारको औपचारिक निर्णय भने होइन। भारतीय च्यानल जी बिजनेश र टाइम्स नाउ बाहेक अरु सबै च्यानल बन्द गरिएको टेलिभीजन सेवा प्रदायक कम्पनीले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने सरकारले च्यानल बन्द गर्ने कुनै निर्णय नगरेको जानकारी दिए।
भारतीय समाचार च्यानलहरुले नेपालको बारेमा केही दिनदेखि निरन्तर अनर्गल प्रचार गरिरहेका छन्। नेपालका सबैजसो राजनीतिक दलका नेताहरुले त्यसको विरोध गरिरहेका छन्।