सभामुख सापकोटाको पहलमा जम्बुका घाइतेको उद्धार

सभामुख सापकोटाको पहलमा जम्बुका घाइतेको उद्धार

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ जम्बुस्थित बाढी पहिरो र डुबानग्रस्त क्षेत्रमा पुगेर त्यहाँ भएको जनधनको क्षति र विपत्तिले निम्त्याएको विध्वंशबारे जानकारी लिएका छन्।

स्थलगत अवलोकनपछि उनले पीडितहरूसँग छलफल गरी राहत र उद्दारका लागि यथाशक्य पहल गर्ने बताए। आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सो क्षेत्रमा विस्थापितहरूलाई बास, राहत, हराइरहेकाहरूको खोजीका लागि सबै खाले पहल र प्रयत्न हुने उनले बताए।

सभामुख सापकोटाले खोज, उद्धार र राहतका लागि गृह मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिए। आजै सदरमुकाम चौतारा पुगेर उनले जिल्ला विपद् व्यबस्थापन समितिका अधिकारीहरूलाई उद्दार र राहतका लागि यथाशक्य जुट्न निर्देशन दिए।

सभामुख सापकोटाको पहलमा जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रकम जिल्ला विपद् जोखिम व्यबस्थापनका लागि खर्च गर्न स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय भएको छ। 

सभामुख सापकोटाले जम्बु घटनामा मृत्यु भएका निकेश बस्नेत र नियोन बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे। 

उनको पहलमा ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। सभामुख सापकोटाले बाढी र पहिरोमा परी बेपत्ता २१ जना नागरिकको खोजीका लागि निरन्तर पहल गर्न निर्देशन पनि दिए।


Leave a Reply

Your email address will not be published.