भाडा लिएर यात्रु बोक्नेलाई कारबाही गर्दै ट्राफिक प्रहरी
लकडाउनको समयमा भाडा लएर यात्रु बोक्ने निजी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडाैं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएको भन्दै नियन्त्रणमा लिएको बताए।
रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कानुनअनुसार कडा कारबाही गरिने उनले बताए।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको छ।