साँवाब्याजको समयावधि बढाउन महासंघको आग्रह

साँवाब्याजको समयावधि बढाउन महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले बैंक, वित्तीय संस्थाहरूसँग साँवाब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह गरेको छ।

कोरोना भाइरसको महामारी र लामो समय बन्दाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका सानाठूला सबै तहका उद्योगी–व्यवसायी गम्भीर संकटमा परेका छन्। सबैले आर्थिक समस्या झेलिरहेकाले साँवाब्याज भुक्तानी गर्ने समयावधि बढाउन महासंघले माग गरेको हो।

असार १ गतेपछि लकडाउन केही खुकुलो भएको छ। तर सार्वजनिक यातायात सञ्चालन नहुनका साथै अन्य कारणबाट उद्योग व्यवसाय पूर्ण सञ्चालनमा नआएको र उत्पादित मालवस्तु पनि निर्बाध बजारसम्म पुर्याएर बिक्रीवितरण गर्न समस्या छ। त्यसले गर्दा नगद प्रवाह हुन नसकेकाले सानाठूला सबै तहका उद्योगी–व्यवसायी, काम गरी खाने श्रमिक कामदारलगायत आमजनताको दैनिक जीवनयापन कठिन हुन गएकाले महासंघले बैंक तथा वित्तीय संस्थासँग साँवाब्याजको समयावधि बढाउन आग्रह गरेको हो। 

उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएको जनाउँदै महासंघले २०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गर्नुका साथै आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तसम्म ल्याउन अनुरोध गरेको छ।

अहिलेको जटिल परिस्थिति मनन गरी उद्योग–व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जानसक्ने महासंघको चेतावनी छ। 


Leave a Reply

Your email address will not be published.