अविरल वर्षाका कारण वीरगन्ज नगरका विभिन्न भूभाग जलमग्न

अविरल वर्षाका कारण वीरगन्ज नगरका विभिन्न भूभाग जलमग्न

लगातार अविरल वर्षाका तराईका अधिकांश क्षेत्र जलमग्न भएका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्सासहित बारा, रौतहट जिल्लाका विभिन्न बस्ती डुबानमा परेका हुन्। 

परेको वर्षले अहिले वीरगन्ज महानगरपालिकाका विभिन्न ठाउँहरू जनजीवन पूर्ण रूपले प्रभावित बनेको छ। वर्षाले पर्साका नदीहरूमा उचित तहमा पानी बगिराखेको छ। रातिदेखि परेको अबिरल वर्षाका कारण वीरगन्ज नगरका विभिन्न भूभाग जलमग्नमा परिणत भएको छ। वर्षाले नगरका सडकमा ३-४ फिटसम्म पानी बगिरहेको छ। 

पानीको निकास नभएका कारण रानीघाट, ओम आश्रम, श्रीपुर, जिल्ला प्रशासन कार्यालय, सिर्सिया, आर्दशनगर, इनर्वा, रामगदवा लगायत महानगरका धेरै ठाउँमा अहिले आवतजावतमा समस्या परेको छ। वीरगन्जवासीले हरेक वर्ष डुबानको मार खेप्दै आएका छन्।

वीरगन्जका वासिन्दालाई डुवानबाट मुक्त गर्न एसियाली विकास बैंकको आर्थिक सहयोग र वीरगन्ज महानगरपालिकाको करोडौंको लगानीमा ढल निकास निर्माण गरिएको भए पनि त्यसको कुनै उपलब्धि देखिएको छैन।

नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्। बस्तीहरूसमेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन्।

विगतमा नगरको पानीको निकास नदीमा हुने गरेकामा हाल आएर नाला सफा गरे पनि नदीमा पानीको बहाव उच्च रहेका कारण समस्या उत्पन्न भएको जनाइएको छ। वर्षा सुरु भयो कि अब कतिबेला डुबानमा पर्ने हो भने चिन्ताले सताउने गरेको वीरगन्जका बासिन्दाको दुखेसो छ। 

अहिले वीरगन्जका मुख्य बजार र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानका घरहरूभित्र पानी पसेको छ। घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर हुनुका साथै सडकमा आवागमन समस्या भइरहेको छ।


Leave a Reply

Your email address will not be published.