म्याग्दी पहिरो अपडेट : दुईजनाको मृत्यु, घटनास्थल पुग्नै कठिन

म्याग्दी पहिरो अपडेट : दुईजनाको मृत्यु, घटनास्थल पुग्नै कठिन

म्याग्दीका विभिन्न गएको पहिरोमा बेपत्ता भएकाको खोजीमा समस्या भएको छ। पहिरोमा परेर मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। 

गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुका अनुसार मालिका–७ बिममा आमाछोरीको मृत्यु भएको हो। उपाध्यक्ष बिटालुले आफूहरु घटनास्थलतर्फ गइरहेको बताइन्। 

उनले आयोमेलसँग भनिन्, ‘भीषण वर्षाले घटनास्थल पुग्न सकेका छैनौं, ठाउँठाउँमा पहिरो गएको छ। ५ؘ/६ ठाउँको पहिरो तरेर बाटोमा हिँड्दै छौं।’

धवलागिरि गाउँपालिकामा पनि २२ जना हराइरहेको अनुमान गरिएको छ। तर प्रहरी र जनप्रतिनिधि घटनास्थल पुग्न सकेका छैनन्। पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई वडाका जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए। 

उनका अनुसार घटनास्थलमा अहिले पनि पहिरो खसिरहेको छ। अधिकृत शर्माले भने, ‘ठाउँठाउँमा पहिरो खसेकाले अहिले भर्खरै त्यहाँ पुग्न सक्ने अवस्था छैन। पालिकाबाटै दुई घण्टा लाग्छ। हामी हेलिकोप्टरमार्फत जान प्रयास गर्दैछौं।’

जिल्लाका दुई पालिका जोड्ने पुलमा क्षति पुग्दा आवतजावत ठप्प बनेको छ। रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनी नगरपालिका–९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदीले क्षति पुगेको हो। नदीको बहाव उच्च भएसँगै पुल बगेपछि रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जाने बाटो बन्द भएको छ।

नदी किनारमा बस्दै आएकालाई गाउँपालिकाले राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ। जोखिमपूर्ण क्षेत्रबाट ५० घरपरिवारलाई स्थानीय गायत्री मन्दिरको भवनमा सारिएको रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत अमृत शर्माले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.