पत्रे खोलामा अलपत्र पुल, ६ वर्षमा दुईवटा पिलर

पत्रे खोलामा अलपत्र पुल, ६ वर्षमा दुईवटा पिलर

घोराही–तुलसीपुर सडकखण्डको पत्रे खोला पुल ६ वर्ष हुँदा समेत निर्माण अलपत्र अवस्थामा छ। दुई वर्षभित्र पुल निर्माण सक्ने गरी २०७१ असोज ११ गते निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिलेसम्म पुल निर्माणले पूर्णता पाएको छैन।

निर्माण कम्पनीसँगै सम्बन्धित निकायको लापरबाहीका जिल्लाको मुख्य सडकमै ६ वर्षसम्म पुल निर्माण हुन नसकेको हो। यस अवधिमा दुइटा पिलर निर्माणको काम भएको छ। 

जिल्लामा ठूला पुल सम्झौता मितिमा सके पनि उक्त पुल निर्माण नहुनु ठेकेदारको लापरबाही बताइँदै आएको छ। तर निर्माण कम्पनीको लापरबाहीभन्दा सरकारले समयमै पुल रि–डिजाइनको नक्सा दिन नसक्दा निर्माणको काम अघि बढ्न नसकेको सम्बन्धित निकायको जिकिर छ। निर्माण जिम्मा पाएको शंकरमाली निर्माणका सेवाका प्रतिनिधि पदम शर्माले समयमै पुलको रि–डिजाइन नपाउँदा निर्माण काम गर्न नसकेको बताए। 

पिलर निर्माणको कामसँगै ढलान गर्ने अन्तिम तयारी भइरहेको समयमा सरकारले पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै काम रोकिँदा पुल निर्माणको काम अलपत्र परेको शर्मा बताउँछन्।

अलपत्र पुलको डिजाइन स्वीकृत

घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलाको अलपत्र पुलको करिब चार वर्षपछि डिजाइन स्वीकृत भएको छ। पुल निर्माणकै क्रममा २०७३ सालमा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निर्माणको काम रोकिएको थियो। डिजाइन स्वीकृत भएपछि ६ वर्षदेखि अलपत्र  पुल निर्माणको बाटो खुलेको छ।

पुलको डिजाइन फाइल स्वीकृत नहँुदा पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण सेवाले काम गरेको थिएन। करिब लामो समयपछि असार १९ गते पुल डिजाइन काम स्वीकृत भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख नीरज शाक्यले जानकारी गराएका छन्। पुल डिजाइनको काम स्वीकृत भइसकेकाले अब पुल निर्माणको काम अघि बढ्ने समेत शाक्यले बताए। ‘पुलको सुपरस्ट्रक्चर परिवर्तन गर्नुपर्ने भएपछि पत्रेखोलामा पुल निर्माणको काम रोकिएको थियो, अहिले सडक विभागबाट डिजाइन स्वीकृत भएको छ,’ कार्यालय प्रमुख शाक्यले भने, ‘अब पुल निर्माणको बाटो खुलेको छ, निर्माण कम्पनीले छिट्टै पुल निर्माणको काम सुरु गर्नेछ।’

पुल डिजाइन रिभ्यूका लागि पटक–पटक फाइल पेस भए पनि निर्माण कम्पनीले आवश्यक कागज पूरा गर्न नसक्दा फाइल स्वीकृत हुन सकेको थिएन। त्यसले गर्दा पुल निर्माणमा ढिलाइ हुँदै आएको थियो।

‘पुलको डिजाइन रिभ्यूको फाइल सडक विभागमा पटक–पटक पुगे पनि विभिन्न कागज नपुगेकाले हुन सकेको थिएन,’ प्रमुख शाक्यले भने, ‘म कार्यालय प्रमुखका रूपमा आएपछि यसलाई प्राथमिकता दिएर लागेका थियौं, अहिले बल्लबल्ल डिजाइन पास भएको छ।’ अब डिजाइना स्वीकृत भइसकेकाले म्याद थप मितिमै पुल निर्माण सम्पन्न हुने उनले बताए। 

कार्यालयका अनुसार पुस महिना दुई वर्षमा पुल निर्माणको काम सक्ने गरी २०७१ साल असोज ११ गते सडक डिभिजन कार्यालय र पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण कम्पनीबीच सम्झौता भएको थियो।

दुई वर्षभित्रै पुल निर्माणको काम गर्ने सम्झौता भए पनि विभिन्न कारणले पुल निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनी शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदक शर्माले बताए। अब स्वीकृत भएकाले अब निर्माणको काम सुरु हुने बताए। 

‘पहिले पुल निर्माणको काम सुरु गरे पनि सुरुमा नाकाबन्दीले समस्या गरेको थियो, नाकाबन्दी खुलेपछि पुलको काम गर्दा डिजाइन परिवर्तन भयो र पुल निर्माणको काम रोकिएको थियो,’ दाङ निर्माण व्यवसायी संघका उपाध्यक्षसमेत रहेका शर्माले भने, ‘निर्माण कम्पनीभन्दा पनि सरकारकै कारण पुल निर्माणमा ढिलाइ भएको हो। अहिले डिजाइन स्वीकृत गरेको छ, अब काम हुन्छ।’ 

मूल्यवृद्धि करसहित ४ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो।


Leave a Reply

Your email address will not be published.