पिसिआर ल्याब बनाउन झापामा जनस्तरबाट १ करोडभन्दा बढी संकलन

पिसिआर ल्याब बनाउन झापामा जनस्तरबाट १ करोडभन्दा बढी संकलन

झापाको कनकाई नगरपालिका ३ कोटिहोममा स्थापना हुने पिसिआर ल्याबका लागि  दुई दिनमा जनस्तरबाट २२ लाख, १६ हजार  ७९५ रुपैयाँ जम्मा भएको छ।   

बिहीबार ३ लाख २ हजार र बुधबार १९ लाख १४ हजार ७९५ रुपैयाँ जम्मा भएको हो।  एकका लागि एक अभियानको नेतृत्वमा स्थापना र सञ्चालन हुने पिसीआर ल्यबका लागि बिहीबारसम्म १ करोडभन्दा बढी रुपैयाँ जम्मा भइसकेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए।

अभियानलाई बिहीबार झापा जिल्ला सहकारी संघमार्फत सहयोग प्राप्त भएको हो। अभियानलाई बिर्तामोडका तीनवटा सहकारी संस्थाले नगद हस्तान्तरण गरेका हुन्। 

हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख हस्तान्तरण गरे।

हाम्रो नेपालका अध्यक्ष भवानी दंगाल, सिम्रिकका अध्यक्ष कमल बस्नेत र पब्लिक साकोसका अध्यक्ष प्रमिला गौतमले अभियानका सहसंयोजक विनोद बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

झापाका सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सहकारीले १७ लाख रुपैयाँ जम्मा गरिसकेको संघका झापा अध्यक्ष गणेश ढकालले जनाए।

बिहीबार नेपाल अलैंची व्यवसायी महासंघले  २५ हजार रुपैयाँ प्रदान गरेको छ।  संघका महासचिव सुवास भट्टराईले  नगद हस्तान्तरण गरेका थिए।

अघिल्लाे दिन दाताहरूले १९ लाख रुपैयाँभन्दा बढी  रकम  प्रदान गरेका छन्। दाताहरूले स्वतस्फूर्त रकम हस्तान्तरण गरिरहेका  छन्।

बिर्तामोड उद्योग वाणिज्य संघमा भएको  कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ जम्मा  भएको हो। त्यहाँ २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेका  थिए। संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको हो।

एक करोड २५ लाख रुपैयाँको लागतमा स्थापना हुने ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ। जिल्लाका स्थानीय सरकारले लागत सहभागिता जनाउने भएका छन्। 

साउन १ गतेदेखि सञ्चालनमा आउने ल्याबका लागि अभियानले  पिसिआर मेसिन खरिद गरिसकेको छ। ल्याब स्थापनाका लागि प्रदेश १ सरकारले खटाएको प्राविधिक टोलीले जडानको काम गरिरहेको छ।


Leave a Reply

Your email address will not be published.